२ करोड ५० लाख अमेरिकी डलरमा निर्माण हुँदै 'अवतार'को तेस्रो सिक्वेल
लस एन्जलस । हलिउडका दिग्गज चलचित्र निर्माता एवम् निर्देशक जेम्स क्यामरुन यति बेला नयाँ चलचित्रको निर्माणमा व्यस्त छन् । उनले आफ्नो लोकप्रिय चलचित्र ‘‘अवतार’को नयाँ सिक्वेल फेरी ल्याउने भएका छन् । एक पटक दर्शकहरूलाई पाण्डोराको रहस्यमय संसारमा उनले लैजाँदै छन् ।
अवतारको तेस्रो सिक्वेलको रूपमा बनाईएको चलचित्रको नाम उनले ‘‘अवतारः फायर एन्ड एश’’ राखेका छन् । जेम्सले ‘अवतारको तेस्रो सिक्वेल तयार भइरहेको घोषणा गर्दै दर्शकको लागि अवतारले फेरी एक पटक नयाँ कथा प्रस्तुत गर्ने बताएका छन् । उनले यो चलचित्रको निर्माण केही वर्ष अघिबाटै सुरु गरेका हुन् । चलचित्रको आवश्यक छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको क्यामरुनले बताएका छन् ।
चलचित्र ‘‘अवतारः फायर एन्ड एश’’ आगामी १९ डिसेम्बरबाट विश्वव्यापी रूपमा रिलिज हुनेछ । यो तेस्रो भागको बजेट लगभग २ करोड ५० लाख अमेरिकी डलर रहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई अहिले विश्व भरका चलचित्र वितरकहरूले आगामी डिसेम्बरमा रिलिज गर्न यसको बुकिङ समेत सुरु गरिसकेका छन् ।
यो चलचित्रमा वरंग मुख्य खलनायकको रूपमा हुनेछिन् । निर्देशक क्यामरुनले फस्ट लुक्सको रूपमा वरंगको पहिलो झलक पनि सार्वजनिक गरेका छन् । तेस्रो सिक्वेलको अवतारको वरंग पात्रको फस्ट लुक्स यति बेला चर्चामा छ । उनले चलचित्रको फस्ट लुक्सबाट दर्शकको राम्रो प्रतिक्रिया पाएकोमा आफूहरू यो चलचित्रलाई आगामी नयाँ वर्षको पूर्व सन्ध्यामा ल्याउन उत्साहित भएको बताएका छन् ।
यो चलचित्रको प्रसिद्ध पात्र एवम् अभिनेत्री उना च्याप्लिनले यस पटक खल चरित्र निर्वाह गर्दै छिन् । उनको यस पटकको लुक्सले चलचित्र खलनायक वरंग शक्तिशाली भएको झलक दिन्छ । निर्देशक क्यामरुनका अनुसार वरंगलाई माकंवान जनजातिको नेताको रूपमा देखाइनेछ । जसलाई यश पिपलको हिस्सा भनिन्छ । चलचित्रको कथा बारेमा उनले भने,‘यी मानिसहरू पाण्डोराको नयाँ र रहस्यमय क्षेत्रमा ज्वालामुखी वरिपरि बस्छन् । जसले यस पटकको कथामा आगो र खरानीको नयाँ अध्याय थप्न गइरहेको छ ।’
यो चलचित्रको निर्माण पक्षका अनुसार अवतारको तेस्रो सिक्वेलको ट्रेलर २५ जुलाईमा सार्वजनिक गरिँदै छ । यो चलचित्रको ट्रेलरलाई विश्वका चलचित्र घरहरूमा रिलिज हुँदै गरेको नयाँ चलचित्र ‘‘द फ्यान्टास्टिक फोरः फस्र्ट स्टेप्स’’सँगै प्रदर्शन गरिने भएको छ ।
न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार, दर्शकका लागि रिलिज गर्नु अघि चलचित्र अवतारको तेस्रो सिक्वेलको ट्रेलर हालै डिज्नीको न्यूयोर्क र लस एन्जलस कार्यालयहरूमा निजी स्क्रिनिङको क्रममा देखाइएको थियो । यसको ट्रेलरमा, खलनायक वरंगलाई गाढा रातो र कालो हेड ड्रेसमा प्रभावशाली र खतरनाक रूपमा देखाइएको छ । ट्रेलरको एउटा दृश्यमा, वरंगले जेक र नेतिरीकी छोरी किरीलाई बन्धक बनाएको देखिन्छ । वरंगले भनेकी छिन्,‘यहाँ तिम्रो देवीको कुनै अधिकार छैन’, यो संवादले चलचित्रको शक्ति र खलनायकको गम्भीरतालाई पनि दर्साएको छ ।