भद्रपुरका विद्यालयहरुमा मेची टुरिजमको खाद्य, स्वच्छता र सुरक्षा सम्बन्धी जागरूकता अभियान
भद्रपुर । भद्रपुरका विद्यालयहरूमा खाद्य, स्वच्छता र सुरक्षा सम्बन्धी जागरूकता अभियान सञ्चालन गरिएको छ । भद्रपुरमा भर्खरै सञ्चालनमा आएको मेची टुरिजम एन्ड हस्पीटालिटी (कलेज फर होटेल म्यानेजमेन्ट) चन्द्रगढीले नगर क्षेत्रका विद्यालयहरूमा खाद्य, स्वच्छता र सुरक्षा सम्बन्धी जागरूकता अभियानलाई तीव्रता दिएको हो ।
मेची टुरिजम एन्ड हस्पीटालिटीले आज भद्रपुर नगरपालिका-१ स्थित हिमाली माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । त्यस्तै मङ्गलवार भद्रपुर- २ स्थित ज्ञान सरोवर निकेतन अङ्ग्रेजी माविमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको हस्पीटालिटीका प्रबन्ध निर्देशक नवीन अधिकारीले जानकारी दिए । यस अभियानमा विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली र स्वच्छ वातावरणको महत्वबारे जानकारी गराइएको थियो ।
साथै स्वच्छ खानेपानीको प्रयोग, खाना पकाउने र खाने बेलाको सरसफाइ, नियमित हात धुने बानीको विकास र खाद्य वस्तुहरूको म्याद, गुणस्तर र सञ्चित तरिकाको निगरानी बारेमा जानकारी गराएको प्रबन्ध निर्देशक अधिकारीले बताए । विद्यालयमा गरिएको सो कार्यक्रममा हिमाली माविका प्रधानाध्यापक दीपक दाहाल र ज्ञान सरोवर निकेतनका प्रधानाध्यापक भक्त कार्कीले सहजीकरण गरिदिएको जनाइएको छ ।