२०८२ माघ ५ गते , सोमबार

झापामा निकाल्यो हर्सोउल्लासका साथ श्रीकृष्ण रथयात्रा

sajilo news
पार्थ मण्डल
२०८२ भाद्र १ गते , आईतबार
झापामा निकाल्यो हर्सोउल्लासका साथ श्रीकृष्ण रथयात्रा

झापा । झापामा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ मनाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट भगवान् श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक चलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, बिर्तामोड, दमक, गौरादह, झापा र गौरीगञ्जमा श्रीकृष्ण रथयात्रा निकालिएको थियो । जिल्लामा शान्तिपूर्ण रुपमा रथयात्रा सम्पन्न भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । 
जिल्लाको सदरमुकाम भद्रपुरमा २३औँ भगवान् श्रीकृष्ण रथयात्रा भव्य रुपमा मनाइएको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्कीले रथमा भगवान् श्रीकृष्णको विशेष पूजा अर्चना पश्चात् भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट रथ निकालिएको थियो । 
सयौँ भक्तजनहरूको सहभागितामा निकालिएको रथयात्रा बसपार्क, झापाचोक, संगमचोक, सगरमाथा चोक, गार्मेन्ट चोक, लेखनाथ चोक, चन्द्रगढी बजार, एसपीमोड हुँदै क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन गरिएको थियो । 
सो रथयात्रामा देवीदेवताको भेसभुसामा सजिएका बालबालिका, लाखे नृत्य, विभिन्न झाँकी समेत प्रदर्शन गरिएको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए । 
विसं.स.२०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीर्ण भएपछि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पाङ्ग्रासहित फलामले रथ बनाएको छ ।   
त्यस्तै बिर्तामोडमा पनि श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा निकालिएको थियो । विशेष पूजाअर्चाना गरिने अग्रसेन भवनबाट निस्किएको रथयात्रा मुक्तिचोक, इलाम बसस्टेन्ड, हुँदै पुनः मुक्तिचोकबाट भद्रपुर रोड पुगी मुक्तिचोक फर्किएको थियो । त्यसपछि अदुवा खोला, पश्चिम बसस्टेन्ड, मुक्तिचोक हुँदै पुनः बालाजी मन्दिरमा पुगेर समापन भएको थियो । रथयात्रामा उल्लेखिय भक्तजनहरूको सहभागितासहित विभिन्न झाँकी समेत प्रदर्शन गरिएको थियो । 
त्यसैगरी दमक नगरपालिकामा नवौँ श्रीकृष्ण रथयात्रा भव्यताका साथ निकालिएको थियो । दमकको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा पुगेर समापन गरिएको थियो । रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिएको थियो । 
गौरीगञ्ज गाउँपालिकामा पाँचौँ पटक रथयात्रा निकालिएको थियो । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्रा निकाल्दै आएको छ ।  खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन भएको थियो । 
२०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो ।  
त्यस्तै गौरादहमा पनि रथयात्रा निकालिएको थियो । गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिएको रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएको समापन गरिएको थियो । झापा गाउँपालिका–६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले पनि भगवान् श्रीकृष्ण रथयात्रा निकालेको थियो ।

सम्बन्धित समाचार