२०८२ माघ ५ गते , सोमबार

रणवीरको ’धुरंधर’ चलचित्र छायांकनमा १२० जना बिरामी

sajilo news
एजेन्सी
२०८२ भाद्र ४ गते , बुधबार
रणवीरको ’धुरंधर’ चलचित्र छायांकनमा १२० जना बिरामी

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको चलचित्र ’धुरंधर’ को छायांकनमा विषाक्त खानाका कारण युनिटका १२० जना बिरामी भएका छन् । आदित्य धरले निर्देशन गरिरहेको यो चलचित्रका प्राविधिकहरू बिरामी भएपछि निर्माण टिमले सोमबार छायांकन समेत रोक्नु प¥यो । चलचित्रको छायांकनको क्रममा यति धेरै प्राविधिक एकै पटक विरामी भएको यो पहिलो घटना भएका कारण अहिले धेरैका ध्यान यस तर्फ गएको छ । लद्दाकको प्रशासनले पनि यो घटनालाई निकै गम्भिरता पूर्वक लिएको छ ।

यो चलचित्रको अहिले लद्दाखमा छायांकन भइरहेको छ । आइतबार चलचित्रको छायांकनको क्रममा अपराह्नको खानाका कारण युनिटका धेरै प्राविधिकहरू बिरामी परे । धन्न मंगलबारसम्म कसैको पनि ज्यान गएन । अभिनेता रणवीर आफैँले पनि एउटा ठुलो दुर्घटना टरेको बताएका छन् ।

चलचित्रमा द्वन्द्वको दृश्यको छायांकन कारण युनिटमा प्राविधिक र कोरस कलाकारसहित ६०० जना थिए । ती ६०० जनालाई नै युनिटमा खाना बनाइएको थियो । खान खाएपछि ती ६०० जना मध्य चलचित्रको यातायात, लाइटलगायतको टिमका १२० जना प्राविधिक अचानक विषाक्त खानाको सिकार भए ।

खाना खाएको केही समयमै सबैलाई टाउको दुख्ने, पेट दुख्ने र बान्तासँगै पखाला लाग्ने जस्तै उस्तै समस्या देखिएपछि तुरुन्तै अस्पताल लगिएको थियो । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार, छायांकन स्थलबाट १०० भन्दा बढी मानिसहरूलाई गम्भीर अवस्थामा एसएनएम अस्पतालमा भर्ना गरियो । केहीले पनि अस्पतालमै रहेर प्रारम्भिक उपचार गरे ।

‘सबै बिरामीहरूले गम्भीरसँग पेट दुख्ने, टाउको दुख्ने र बान्ता हुने समस्या भएको बताएपछि खानामा विषाक्तता भएको निष्कर्षमा हामी पुगेका छौँ । धेरैजसो बिरामीहरू चलचित्रको प्राविधिक टोलीसँग सम्बन्धित हुनुहुन्छ र अहिले सबैको अवस्था स्थिर छ ।’ सो अस्पतालका एक अधिकारीले मिडियालाई बताए ।

सो घटनापछि अस्पतालको आकस्मिक वार्डमा एका एक बिरामीको चाप बढेपछि डाक्टरले त्यहाँको स्थिति नियन्त्रण गर्न प्रहरीलाई पनि बोलाउनु परेको बताएका छन् । प्रहरीको स्वास्थ्य टोली समेत आएर अस्पतालमा स्वयम् सेवकको रूपमा सघाएको पनि चिकित्सकहरूको कथन छ । मंगलबारसम्म धेरै जसो बिरामीहरू उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेको पनि त्यहाँका चिकित्सकहरूले बताएका छन् ।

सो घटनापछि स्थानीय प्रहरी प्रशासन र खाद्य अनुसन्धान समूहले त्यहाँको खानाको नमुना संकलन गरेर ल्याब परीक्षणको लागि पठाएका छन् । त्यो दिनको खाना र पानी मध्य केमा विषाक्त थियो भनेर खानासँगै पानी समेत परीक्षणमा लगिएको पनि प्रहरीले जनाएको छ ।

यो ठुलो बजेटको चलचित्र हो । जसमा रणवीर सिंहसँगै आर. माधवन, संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, सारा अर्जुन जस्ता कलाकारहरूको शीर्ष भूमिका रहेको छ ।

’धुरंधर’ को पहिलो लुक हालै रिलिज भएको थियो । फस्ट लुक्समा दर्शकहरूबाट राम्रो प्रतिक्रिया मिलेको थियो। यो चलचित्र जियो स्टुडियो र बी ६२ स्टुडियोले निर्माण गरिरहेको छ । यो चलचित्रको लगभग ५० दिनको छायांकन अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई आगामी ५ सेप्टेम्बरमा रिलिज गर्ने भनेर प्रदर्शन तालिका समेत सार्वजनिक भइसकेको छ । छायांकनमा भएको यो घटनाका कारण सोमबार र मंगलबार छायांकन रोकियो । चलचित्रको छायांकन तालिकालाई यो घटनाले असर गरे पनि यसको बुधवारबाट छायांकन सुरु हुने निर्माण पक्षको कथन छ ।

सम्बन्धित समाचार