देश बेरोजगार उत्पादन गर्ने कारखाना र भ्रष्टाचारीको कमाई खाने मैदान बन्यो : राजेन्द्र लिङ्देन
झापा । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशमा बढ्दो बेरोजगारीका कारण परिवार चलाउन छोराछोरीलाई बेच्नु परिरहेको बताएका छन् । झापाको भद्रपुरमा बुधवार आयोजित राप्रपा झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष लिङ्देनले आज देश पूर्ण रुपमा बेरोजगार उत्पादन गर्ने कारखाना र भ्रष्टाचारीहरूले कमाई खाने मैदानमा परिणत भएको बताएका छन् । जसकारण परिवार चलाउन छोराछोरी बेचिनु परिरहेको छ ।
सरकारले देशमै सय जनालाई रोजगारी दिने एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको बताउँदै लिङ्देनले भने, ‘देशभित्र तपाईँको, तपाईँको छोराछोरी र युवाहरूले गरी खाने वातावरणको सृजना हुन सके की सकेन त्यो महत्त्वपूर्ण कुरा हो ।’
‘नेपाली काँग्रेस र नेकपा (एमाले)ले मिलेर चलाएको देशको हालत हेर्नुहोस् त ?,’ अध्यक्ष लिङ्देनले भने, ‘देशलाई बरबाद पार्ने काममा काँग्रेस र एमाले दुवै बराबर जिम्मेवार छन्, देश लुट्ने बेलामा यिनीहरू एकै ठाउँ पनि उभिन्छन् ।’ आज मन्त्रीहरूको बीचमा छिटो कमाउनेमा प्रतिस्पर्धा चलिरहेको आरोप लगाउँदै उनले भने, ‘कसले छिटो कमाउने, कसले धेरै कमाउने भनेर ।’ मन्त्रीहरू एकपछि अर्को गर्दै भ्रष्टाचार काण्डमा मुछिएका घटनाहरू सार्वजनिक भइरहेका छन् । त्यसमा पनि प्रतिस्पर्धा चलिरहेको छ । ‘तर, देशका सामान्य एउटा किसान मल बिउँबाट बञ्जित हुनु परेको बनेको छ,’ उनले भने ।
हामीले यही अवस्थालाई स्वीकार गरिराख्नु भनेको हामी मात्र होइन, हाम्रो भावी सन्ततिको भविष्यको बरबादीमा सहभागी हुनु हो । यो देश बनाउन काँग्रेस र कम्युनिस्टको विकल्पमा हामी उभिने बेला आएको छ । ‘त्यो शक्ति भनेको राप्रपा मात्रै हो,’ उनले भने । काँग्रेस, एमाले र माओवादी पार्टीविरुद्ध भन्दा पनि पार्टीको नाममा देशमा जुन लुटतन्त्र मच्चिरहेको छ त्यसको विरुद्धमा हामी उभिएका छौँ ।
‘ती पार्टीहरूमा सबै खराब मान्छेहरू छन् भनी म भन्दिन,’ उनले भने, ‘त्यसमा पनि राम्रा मान्छेहरू हुनुहुन्छ, देश बनाउन चाहनुहुन्छ भने आउनुहोस् हातेमालो गरी अगाडि बढ्औं ।’
राप्रपाका क्षेत्रीय कार्यवाहक अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा भएको सभामा पार्टी सह–महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरू खुश्वु ओली, इनु अधिकारी, अञ्जार आलम लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा रविचन्द्र ओझाको नेतृत्वमा नयाँ क्षेत्रीय समिति निर्विरोध चयन गरिएको नगर अध्यक्ष राजकुमार राईले जानकारी दिए ।