२०८२ माघ ५ गते , सोमबार

मेरो भ्वाइस र डान्स युनिभर्सको फाइनल आज

sajilo news
रासस
२०८२ भाद्र ७ गते , शनिबार
मेरो भ्वाइस र डान्स युनिभर्सको फाइनल आज

नेपालको सबैभन्दा ठुलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को ‘ग्रान्ड फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ।  

आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका अनुसार आज ललितपुरको गोदावारीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो प्रतियोगिता सम्पन्न हुनेछ।  

कार्यक्रममा मेरो ‘भ्वाइस युनिभर्स’ तर्फ छनोट भएका उत्कृष्ट ६ प्रतियोगी र ‘डान्स’ तर्फको उत्कृष्ट ६ प्रतियोगी सहभागी हुनेछन्। ३२ सत्रसम्म प्रसारण भइसकेको ‘भ्वाइस’ को पाँच उत्कृष्टमा सिक्कमबाट दीपराज राई, दार्जिलिङबाट वाङेगे शेर्पा, कतारबाट जुनु प्रसाई, जापानबाट प्रथम गुरुङ, हङकङबाट टपराज तामाङ र नेपालको झापाबाट प्रशान्त पोखरेलबिच अन्तिम प्रतिस्पर्धा हुँदैछ।  

त्यस्तै मेरो ‘डान्स’ तर्फ सिक्किमबाट अमृता राई, हङकङबाट रिस्ता गुरुङ, नेपालबाट सुशना कोइराला, सीतु महर्जन, सुरज सिञ्जाली मगर र साजन पाख्रिनबिच अन्तिम प्रतिस्पर्धा हुनेछ। यी दुवै रियालिटी शोमा प्रमुख विजेताले रु एक करोड पाउनेछन् भने उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन्। चौथो, पाँचौँ र छैटौँले क्रमशः रु छ लाख, रु पाँच लाख र रु चार लाख पाउनेछन् भने टप १० ले रु तीन लाख पाइसकेका छन्।

तीन महिनासम्म चलेको प्रतियोगितामा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रहेको छ। ‘यो रियालिटी शोको मुख्य उद्देश्य विश्वभर रहेका नेपालीलाई सांस्कृतिक माध्यमबाट जोड्नु हो,’ इन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भने

सम्बन्धित समाचार