झापामा लन्च भयो पहिलो फ्रिलेन्सिङ एप ‘yahachha.com’
काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलाइन्स प्लेटफर्म ‘yahachha.com’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडमा एक भव्य समारोहका बीच सोमवार व्यावसायिक अनलाइन पोर्टल ‘यहाँ छ’ को सार्वजनिक गरिएको हो ।
बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईँले रुटदेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालिले निर्माण गरेको व्यावसायिक अनलाइन पोर्टलको सार्वजनिक गरेकी थिइन् । प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सो क्षेत्रबाट सेवा लिन अब उक्त पोर्टल सुरु गरिएको हो ।
प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्नु परे वा गराउनु परेमा यो प्लेटफर्मको प्रयोग गर्न सकिने कम्पनीका रविन थापाले जानकारी दिए । उनका अनुसार ल्यापटप र इन्टरनेट हुने जो कोहिले कुनै पनि ठाउँमा बसेर काम गर्न सकिने बताए । स्वदेशमा रोजगार छैन भन्नेहरूलाई उनले प्रविधिको ज्ञान भए विदेश जानु नपर्ने अवगत गराए । सन् २०१६ देखि अन्तर्राष्ट्रिय स्तरमा सेवा गर्दै आएको कम्पनीले नेपालभरका लागि नयाँ कार्यक्रम ल्याएको हो । अनलाइन सेवा मार्फत गरिने काममा भुक्तानी खल्तीबाट गर्ने व्यवस्था मिलाइएको छ ।
रोजगार र सीपलाई जोड्ने माध्यमका रुपमा सार्वजनिक गरिएको ‘यहाँ छ’ ले दुवै पक्षका समस्याहरू समाधान गर्ने विश्वास गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईँले युवाहरूले नेपालमै सम्भावना देखाउन गरेको प्रयासको प्रशंसा गरिन् । केही हुँदैन भन्नेहरूका लागि यो कामले बलियो उदाहरण पेस गरेको उनको भनाई थियो । प्रविधिको युगमा अति आवश्यक अनलाइन व्यावसायिक पोर्टल निर्माण गरेकामा धन्यवाद समेत दिइन् । सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
सल्लाहकार रविन चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नवीन भण्डारीले स्वागत गरेका थिए ।