चिया श्रमिकको मासिक तलब रु १५ हजार ६९९ बनाउने सहमति
न्यूनतम पारिश्रमिकको विषयमा चिया उद्योगी र श्रमिकबीच सहमति भएको छ । ९ पटकसम्मको वार्तापछि बल्ल चिया बगानमा क्रियाशील ट्रेड युनियन र नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच सहमति भएको हो । चिया बगानमा कार्यरत श्रमिकहरूले हाल खाइपाइ आएको न्यूनतम पारिश्रमिकमा आधारभूततर्फ रु.३९, महँगी भत्तातर्फ रु.२६ थप गरी दैनिक आधारभूत पारिश्रमिक रु.३६२ , महँगी भत्ता रु.२०३ गरी जम्मा रु. ५६५ ,मासिकतर्फ आधारभूततर्फ ११६२ , महँगी भत्ता ६४४ थप गरी आधारभूत पारिश्रमिक रु. १००९६ ,महँगी भत्ता रु ५६०३ गरी जम्मा रु.१५६९९ पुर्याउने, चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक र बगानका सरदार, चौकीदारको समेत दैनिक भत्ता रु.७० निर्धारण गरिएको छ । जुन सहमति साउन १ गतेदेखि लागु हुने गरी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरिने भएको छ ।
सबै प्रतिष्ठानहरूमा प्रतिष्ठानलाई आवश्यक पर्ने कामदार सङ्ख्या यकिन गरी श्रम ऐन २०७४ को दफा ११ अनुसार २०८२ भाद्र मसान्तसम्ममा नियमित र समयगत रोजगार सम्झौता गरी काममा लगाउने, नियमित रोजगारीमा रहेका कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने प्रक्रिया सुरु गरी २०८२ असोज मसान्तसम्ममा सूचीकृत गरी सक्नेलगायतका सहमति भएको हो ।
चिया बगानमा क्रियाशील ट्रेड युनियनहरूले गत असार ६ गते ६ बुँदे माग राखेका थिए । तीस दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि झापाका चिया श्रमिकहरूले साउन १८ गतेदेखि चिया बगान बन्द गरेका थिए ।