२०८२ माघ ५ गते , सोमबार

मिस्टर कञ्चनजङ्घा बडीबिल्डिङको ट्रफी सार्वजनिक

sajilo news
झापा
२०८२ भाद्र २१ गते , शनिबार
मिस्टर कञ्चनजङ्घा बडीबिल्डिङको ट्रफी सार्वजनिक

तेस्रो मिस्टर कञ्चनजङ्घा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीले यही भदौ २७ र २८ गते बिर्तामोडको सिटी सेन्टरमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा देशभरबाट करिब एक सय पचास जना खेलाडीहरूको सहभागिता रहनेछ। ५५ केजीदेखि ७५ केजीभन्दा माथि सम्मका विभिन्न ६ विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।पहिलो र दोस्रो संस्करण प्रदेशस्तरमा सीमित रहेकोमा यो संस्करणबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएको अध्यक्ष पराजुलीले बताए । कार्यक्रम संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालका अनुसार कोशी प्रदेशबाहेक अन्य प्रदेशहरूबाट आउने खेलाडीहरूलाई यातायात र आवास खर्च उपलब्ध गराइनेछ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको समेत सहभागिता हुने जानकारी दिँदै दाहालले यस प्रतियोगितालाई नेपालकै प्रतिष्ठित बडीबिल्डिङ प्रतिस्पर्धाका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको बताए । विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुनेले तीन लाख, तेस्रोले दुई लाख, चौथोले एक लाख, पाँचौँले ७५ हजार र छैटौँ स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साथै, हरेक तौल समूहमा दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसअघि प्रदेशस्तरीय प्रतियोगिता हुँदा पहिलो पुरस्कार तीन लाख ११ हजार १११ रुपैयाँ थियो। प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टीकाराज ढकाल र आयोजक समितिका निवर्तमान अध्यक्ष अर्जुन मैनालीले शुभकामना मन्तव्य राखेका थिए । आयोजक समिति सचिव सन्तोष उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार रमेश तिवारीले गरेका थिए । 

सम्बन्धित समाचार