२०८२ माघ ५ गते , सोमबार

दुबईमा भारत र पाकिस्तानबीच आज भिडन्त

sajilo news
एजेन्सी
२०८२ भाद्र २९ गते , आईतबार
दुबईमा भारत र पाकिस्तानबीच आज भिडन्त

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ।  समूह चरणको पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी सुरुवात गरेको थियो।

भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी–२० खेल भएका छन्। जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ।  भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए। 

दुई टोलीबीचको सो खेल न्यूयोर्कमा खेलिएको थियो र भारतले ६ रनले जितेको थियो।  भारतले अन्तिम पटक रोहित शर्माको कप्तानीमा खेलेको थियो भने पाकिस्तानको नेतृत्व बाबर आजमले गरेका थिए। 

रोहितले अब टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् भने बाबरले एसिया कपको लागि टोलीमा स्थान पाएका छैनन्।  त्यसैले भारत र पाकिस्तानका टोलीहरू अब नयाँ कप्तानको नेतृत्वमा यो खेलमा प्रवेश गर्नेछन्।  भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन्।

सम्बन्धित समाचार