२०८२ माघ ५ गते , सोमबार

झापामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै

sajilo news
झापा
२०८२ भाद्र ३१ गते , मंगलबार
झापामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै

झापा जिल्लामा जापानिज इन्सेफ्लाइटिस (जेई) बाट संक्रमित हुनेहरूको सङ्ख्या ७ पुगेको छ । पछिल्लो पटक बिर्तामोड-५ कृषिथोक बस्ने २९ वर्षीय पुरुषमा जेईको संक्रमण देखिएको छ । उनलाई हिजो भदौ ३० गते बिरामी देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस वर्षको शुरुवातमा मेचीनगरका दुई महिलालाई संक्रमण पुष्टि भएको थियो । मेचीनगर-३ दोकानडाँडाकी ३६ वर्षीया महिलालाई गत असार १८ गते र मेचीनगर-५ हात्तीमुढेकी ५५ वर्षीया अर्की महिलालाई असार ३० गते संक्रमण देखिएको हो । त्यसपछि साउन ६ गते भद्रपुर-९ पुहाँतुवारीका ७७ वर्षीय वृद्ध संक्रमित भएका थिए । त्यसपछि साउन २९ गते गौरीगञ्ज १ देवीगडाकी ७ वर्षीया बालिका बिरामी परेकी थिइन् । गत भदौ १ गते विराट मेडिकल कलेज विराटनगरमा भर्ना गरिएकी ती बालिकाको भदौ ४ गते मृत्यु भएको थियो ।

गत भदौ २ गते बिर्तामोड-२ चारपानेकी १३ वर्षीया बालिका संक्रमित भएकी थिइन् । उनको उपचार भइरहेको छ । त्यस्तै भदौ ५ गते बुद्धशान्ति गाउँपालिका-२ इन्द्रेणी चोकका ८६ वर्षीय वृद्ध र भदौ ८ गते अर्जुनधारा नगरपालिका-१ खुदुनावारीका ६६ वर्षीय अर्का वृद्धमा संक्रमण देखिएको छ । दुवैको अवस्था सामान्य रहेको जनाइएको छ ।

अहिलेसम्म चार महिला र चार पुरुषमा संक्रमण देखिएको हो । मेचीनगर र बिर्तामोडमा दुई–दुईजना तथा गौरीगञ्ज , भद्रपुर , बुद्धशान्ति र अर्जुनधाराका एक–एक जना संक्रमित भएका हुन् । गत वर्ष झापामा जापानिज इन्सेफ्लाइटिसबाट मेचीनगर र दमकमा एक–एक जना गरी दुई जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार