भारतमा जेनजी रिभोलुसन : लद्दाख पूर्ण राज्यको माग गर्दै प्रदर्शनकारीद्वारा आगजनी र तोडफोड
भारतीय केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै बुधबार हिंस्रक प्रदर्शन भएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । विद्यार्थीहरूले भारतीय जनता पार्टीको कार्यालय, सुरक्षाकर्मीको गाडीमा आगो लगाउनुका साथै तोडफोड गरेका भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।
सामाजिक अभियन्ता सोनम वाङ्गचुकको समर्थनमा विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। वाङ्गचुक पछिल्लो १५ दिनदेखि भोक हड्तालमा थिए छन्। लद्दाखको विवादित काश्मिर क्षेत्रको सहर लेहमा ३५ दिनदेखि उनको अनसन जारी छ। उनले अहिलेको प्रदर्शनलाई युवाहरूको आक्रोस र जेन-जेड रिभोलुसन भनेका छन्।
लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने, कारगिल र लेह को छुट्टै लोकसभा सिट, सरकारी जागिरमा स्थानीयको भर्ती, लगायतका माग गर्दै प्रदर्शन भइरहेको हो। यी मागका सम्बन्धमा राजधानी दिल्लीमा आगामी अक्टुबर ८ का लागि बैठक आह्वान गरिएको छ।
सन् २०१९ मा अनुच्छेद ३७० र ३५ ए हटाएर जम्मू–काश्मीर र लद्दाखलाई दुई केन्द्र शासित प्रदेश बनाइएको थियो। सरकारले त्यस समय नै राज्यको अवस्था सामान्य भएपछि पूर्ण राज्यको दर्जा बहान गर्ने विश्वास दिलाएको थियो।
यसरी भड्कियो हिंसा
एक दिन अघि सामाजिक सञ्जालमा योजना बनाइएको थियो। सरकारले मागलाई लिएर कुनै तत्काल प्रतिक्रिया या छलफलको संकेत नदिए पनि मंगलबार सोनमका समर्थकहरूले लेमा मुख्य प्रशासनिक केन्द्र हिल काउन्सिलको कार्यालय अगाडि प्रदर्शन गर्ने योजना बनाए।
राती नै सामाजिक सञ्जालमार्फत प्रदर्शन आह्वान गरियो। बुधबार बिहानै हजारौँको भिड काउन्सिलको कार्यालयतिर बढेपछि प्रहरी र केन्द्रीय सुरक्षा बलले बल प्रयोग गरेको थियो।
को हुन सोनम वाङ्गचुक?
सामाजिक अभियन्ता सोनममाथि भारतीय चलचित्र थ्री इडियट्स बनाइएको थियो। ५९ वर्षीय इन्जिनियर सोनम ग्लोबल अवार्ड फर सस्टेनेबल आर्किटेक्चर, रियल हीरोज अवार्ड लगायतबाट सम्मानित भइसकेका छन्।
वाङ्गचुक १८ महिनादेखि लगातार प्रदर्शन गरिरहेका छन्। २०२४ मार्चमा २१ दिन आमरण अनसन बसेका थिए। गतबर्ष सेप्टेम्बरमा लेहदेखि दिल्लीसम्म पदयात्रा गरेका उनलाई राजधानीको बोर्डरमा पक्राउ गरिएको थियो।
गत अक्टोबरमा दिल्लीमा अनसन बसेका उनलाई दोस्रोपटक केन्द्र सरकारले वार्ताको आश्वासन दियो। लेहमै १६ दिन उनी अनसन बसे। उनलाई केन्द्र सरकारले पटक पटक वार्ताको आश्वासन दिँदै आएको छ।