पाँचथरमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु
पाँचथरमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । तुम्बेवा गाउँपालिका– ४ ओलने बस्ने ७९ वर्षीया कान्छीमाया शेर्माको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको हो । त्यस्तै फाल्गुननन्द गाउँपालिका– ३ त्रिवेणी दोभानस्थित निवु खोलाले बगाउँदा अन्दाजी १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।
त्यस्तै मिक्लाजुङ गाउँपालिका –३ सोलुम्बा बस्ने भक्तबहादुर कार्कीको घरमाथिबाट पहिरो झर्दा कार्कीकी श्रीमती ३७ वर्षीया मनमाया कार्की घाइते भएकी छन् ।
त्यसैगरी पहिरोले फाल्गुननन्द गाउँपालिका –१ आलुवारीस्थित महेन्द्र आङदेम्बेको एकतले घरको भित्ता भत्काउँदा सोही घरमा बसोबास गर्दै आएकी आङदेम्बेकी आमा अन्दाजी ७२ वर्षीया सुकमाया आङदेम्बे घाइते भएकी छन् । पहिरोले पुरिएर उनको छाती र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।