हल्दिबारीमा लगातार चोरी, कचनकवलमा चोर्दा चोर्दै एक पक्राउ
झापाको हल्दिबारीमा लगातार चोरी हुँदै आएको छ । हल्दिबारी-२ सूर्य होली चोक बस्ने भानुकुमार मगरको घरमा दशैको टिका लगाउन शनिवार स–परिवार घरमा चाबी लगाई आफन्तकोमा गएको अवस्थामा एकतले पक्की घरको अगाडिपट्टिको ग्रीलको ढोकाको चाबी फुटाई चोरी भएको हो । सुत्ने कोठामा ब्यागमा राखिएको नगद २ हजार रुपैयाँ चोरी लगेको मगरले बताएका छन् ।
मगरको घरमा चोरी भएको घटनाको अघिल्लो दिन साँझ सोही ठाउँका केदारप्रसाद रिजालको एकतले घरमा कोही नभएको समयमा घरको दक्षिणपट्टिको ढोकाको कब्जा फुटाई लाखौँको चोरी भएको थियो । रिजालको घरबाट सुनको विभिन्न गर–गहना तथा नगद रु.५० हजार गरी अन्दाजी १३ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
यसैबिच चोरी गर्दै गर्दा कचनकवलमा एक जना पक्राउ परेका छन् । गए राति ९ः२५ बजे कच कवल गाउँपालिका-१ नन्दीडाँडा बस्ने २९ वर्षीय ताला हेमरमले वडा नं २ पुरानो बजारमा रहेको राजेश श्रेष्ठको खाजा घरको टिनको बार फोरी भित्र पसेर चोरी गर्दै गर्दा स्थानीयहरुले नियन्त्रणमा लिएका छन् । उनलाई प्रहरी चौकी पथरियाको जिम्मा लगाइएको छ । उक्त होटलको गल्लाबाट ३ हजार रुपैयाँ हराएको बुझिएको छ ।