२०८२ माघ ५ गते , सोमबार

इजरायल र हमासबीच युद्धविराम सहमति, २० इजरायली बन्दी रिहा गरिने

sajilo news
बीबीसी
२०८२ आश्विन २३ गते , विहीबार
इजरायल र हमासबीच युद्धविराम सहमति, २० इजरायली बन्दी रिहा गरिने

लामो समयदेखि जारी इजरायल–हमास युद्ध अन्त्यतिर अघि बढ्ने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै पक्षबीच युद्धविराम सम्झौता भएको छ। ‘गाजा शान्ति योजना’ भनिएको उक्त सम्झौताको पहिलो चरणमा युद्ध रोक्ने र कैदीबन्दीहरूलाई मुक्त गर्ने सहमति गरिएको हो। बीबीसीका अनुसार, इजरायल र हमासबीचको यो सम्झौतामा बिहीबार इजिप्टमा औपचारिक हस्ताक्षर हुनेछ। प्रारम्भिक चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै रिहा गरिनेछ भने गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिने व्यवस्था गरिएको छ।

एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ कि हमासले यो साता नै सबै बन्दीहरूलाई फिर्ता गर्नेछ, जबकि इजरायली सेना गाजाका अधिकांश क्षेत्रबाट फिर्ता हुने तयारीमा छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, “सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै घर फर्काइनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ। यो स्थायी र दिगो शान्तितर्फको पहिलो ठोस कदम हुनेछ।”

चार देशको ग्यारेन्टी

अमेरिका, इजिप्ट, कतार र टर्कीले सम्झौताका ग्यारेन्टरको भूमिका निर्वाह गर्नेछन्। यी देशहरूको निगरानीमा दुवै पक्षले सम्झौताका सर्तहरू पालना गरेसम्म पुनः आक्रमण नहुने व्यवस्था गरिएको छ।

सम्झौता टुंगिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्नुभएकाे छ। दुवै नेताले बन्दी रिहाइसम्बन्धी सहमति ‘ऐतिहासिक उपलब्धि’ भएको भन्दै एक–अर्कालाई बधाई दिनुभएकाे छ।प्रधानमन्त्री नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधनका लागि औपचारिक निमन्त्रणा पनि दिनुभएकाे छ ।

सबै पक्षबाट सम्झौतामा सहमति

गाजा शान्ति सम्झौताबारे इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले बुधबार राति ढिलो पुष्टि गरेका छन्। तर गाजाको शासन प्रणाली वा हमासको निरस्त्रीकरणजस्ता विवादास्पद विषयमा अझै सहमति नजुटेको बताइन्छ। यी बाँकी विषयमा इजिप्टमा हुने आगामी वार्ताले दोस्रो चरणको रूपरेखा तय गर्नेछ।

सम्झौता सम्पन्न गर्न कतारले विशेष भूमिका खेलेको बताइएको छ। सोमबारदेखि इजिप्टको शर्म–अल–शेखमा अमेरिका, इजरायल, इजिप्ट र कतारका उच्च प्रतिनिधिहरूबीच भएको वार्तामा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी पनि सहभागी हुनुहुन्थ्याे ।

नेतन्याहूको प्रतिक्रिया

प्रधानमन्त्री नेतन्याहूले यो सम्झौतालाई “इजरायलका लागि विशेष दिन” भन्नु भएकाे छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, “हाम्रो सबै बन्दीहरूलाई घर फर्काउने दिशामा यो ऐतिहासिक कदम हो। यो कूटनीतिक सफलता मात्र होइन, राष्ट्रिय र नैतिक विजय पनि हो।”

उनले अमेरिकी राष्ट्रपति ट्रम्प र उनको टोलीलाई ‘शान्ति सम्भव छ भन्ने प्रमाण’ देखाएको भन्दै धन्यवाद दिएका छन्।७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा व्यापक सैन्य कारबाही थालेको थियो। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना, विपिन जोशी, हमासको नियन्त्रणमा परेको पुष्टि भएको थियो।

 

हालै विपिनको पुरानो भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे आशा पलाएको छ। यस युद्धविराम सहमतिले उनको रिहाइसमेत सम्भव हुने विश्वास नेपाली पक्षले व्यक्त गरेको छ। यो युद्धविराम सम्झौतालाई २०२३ पछि सुरु भएको इजरायल–हमास द्वन्द्व अन्त्य गर्ने दिशामा सबैभन्दा ठूलो कूटनीतिक सफलता मानिएको छ।

सम्बन्धित समाचार