कोशी प्रदेश : पुनर्निर्माण गर्न २५ प्रतिशत बजेट कटौती गरिने
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको बताए।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका वेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको र केही दिनअघि आएको बाढीपहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्न ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए।
त्यसैगरी बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई खटाएको छ भने विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तरलाई खुला गर्ने भएको छ।