२०८२ कार्तिक ३० गते , आईतबार

भद्रपुरको मेचीपारि नाकाबाट भित्राइएको साढे ७ लाखको पटाका बरामद

sajilo news
पार्थ मण्डल
२०८२ आश्विन २८ गते , मंगलबार
भद्रपुरको मेचीपारि नाकाबाट भित्राइएको साढे ७ लाखको पटाका बरामद

तिहार तथा छठ पर्वलाई लक्षित गरी चोरी तस्करीको माध्यमबाट भित्राइएको साढे ७ लाख मुल्य बराबरको विस्फोटकजन्य पदार्थ पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ ।  भद्रपुर नगरपालिका–३ मेचीपारिस्थित झोलुङ्गे पुल आसपासको क्षेत्रबाट अन्दाजी ७ लाख ६६ हजार ८७६ रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित बारुदजन्य पटाका सशस्त्र प्रहरीले मंगलबार बिहान साढे ४ बजे बरामद गरेको थियो । 
भारतबाट मेची नदी तैरिएर तस्करहरूले टाउकोमा बोकेर नेपाल भित्राइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाको टोलीले सात बोरा पटाका बरामद गरेको गणका प्रवक्ता तथा डीएसपी सुमन पोखरेलले जानकारी दिए । सशस्त्रले देखेपछि तस्कर समूह पटाका बोराहरू छाडेर भारततर्फ भागेका थिए ।  बरामद गरिएको विभिन्न १९ प्रकारका पटाकाहरू मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापामा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको थियो । 
पछिल्लो समयमा मेचीपारिस्थित झोलुङ्गे पुल आसपासको क्षेत्रबाट ठुला मात्रा भन्सार छलीका सामानसहित पटाकाहरू भित्रिरहेको छ । 

त्यस्तै आज बिहान ७:३० बजे गौरीगञ्ज ४ हुक्कागाछीमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको पटाका २० बन्डल (१००० प्याकेट) बरामद गरिएको छ । अन्दाजी ४० हजार बराबरको पटाका प्रहरी टोलीलाई देख्नासाथ सोही ठाउँमा छाडी मानिस फरार भएका थिए । बरामद पटाकाहरू इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार