२०८२ माघ ५ गते , सोमबार

टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई

sajilo news
झापा
२०८२ कार्तिक १ गते , शनिबार
टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई

नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एशिया तथा इष्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको छ। अन्तिम खेलमा समोआलाई १२४ रनले हराउँदै नेपालले उपाधि जितेको हो। यसअघि नै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको हो।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा समोआले सात विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। समोआका सिन सोलिअले सर्वाधिक ४० रन बनाए। बेन्जामिन माइलाटाले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि ललित राजवंशीले ३, सन्दीप लामिछाने, रोहित पौडेल र करण केसीले एक/एक विकेट लिए। यसअघि ओमानको अल अमीरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो।

नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफले ४१ बलमा ६९ र दीपेन्द्रले ३३ बलमा ५३ रनको योगदान दिए। आक्रामक ब्याटिङ गरेका लोकेश बम १२ बलमा ३९ रन बनाएर अविजित रहे। कुशल भूर्तेलले १७ र आरिफ शेख ९ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले २१ रन बनाए। समोआका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक/एक विकेट लिए।

सम्बन्धित समाचार