आज धनतेरस, धनसम्पत्ति जोड्ने दिन !
धनतेरस पर्व शनिबार मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ। तिथिका हिसाबले शनिबार बिहान द्वादशी छ। दिउँसो १ बजेर २३ मिनेटमा त्रयोदशी लाग्ने भएकाले धनतेरस पर्व मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामापित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ। यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने कागतिहार भने बुधबार परेको छ। त्रयोदशीकै साँझ गरिने यमदीपदान शनिबार साँझ नै गरिँदैछ। समितिका अध्यक्ष ढकालका अनुसार बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुने शास्त्रीय नियम छ। धनतेरस पर्व छिमेकी मुलुक भारतमा धुमधामका साथ मनाइन्छ। नेपालमा भने यो चलन केही वर्षयता मात्र भित्रिएको हो।