अमेरिकी सेनाले गर्यो प्रशान्त महासागरमा हमला, १४ जनाको मृत्यु
अमेरिकी सेनाले प्रशान्त महासागरमा लागुऔषध तस्करीको आरोप लागेका चारवटा डुङ्गामा हमला गर्दा १४ जनाको मृत्यु भएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथलेएक्समा विज्ञप्ति जारी गरी सोमबार आक्रमण गरिएका चारवटा डुङ्गाहरू लागुऔषध तस्करीका ज्ञात मार्गहरूमा हिँडिरहेको र लागुऔषध बोकेको दाबी गरेका छन्। उनले पहिलो हमलामा आठ ‘लागुऔषध-आतंकवादी’ मारिएको र त्यसपछिका दुई हमलामा क्रमशः चार र तीन जना मारिएको बताए।
प्रशान्त र क्यारेबियन दुवै क्षेत्रमा लागुऔषध बोकेको भन्दै अमेरिकाले गरेको यो हमला शृङ्खलाको पछिल्लो घटना हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोमबार पूर्वी प्रशान्तमा भएको यो पछिल्लो हमलाले अमेरिकामा लागुऔषध प्रवेश रोक्ने अभियानमा थप तीव्रता दिएको हेगसेथले बताए।
यी हमलामा अहिलेसम्म कम्तीमा ५७ जनाको मृत्यु भइसकेको छ। यसका कारण अमेरिका र कोलम्बिया तथा भेनेजुएलाका सरकारहरूबीच तनाव बढेको छ।
यी हमलाहरूले यो क्षेत्रमा आलोचना निम्त्याएको छ र विज्ञहरूले यसको वैधतामाथि प्रश्न उठाएका छन्। अमेरिकी कङ्ग्रेसका डेमोक्रेट र रिपब्लिकन दुवै सदस्यहरूले पनि चासो व्यक्त गर्दै यसबारे प्रश्न उठाएका छन्।