सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
जियुक्वान । चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्ररूपमा अघि बढाइरहेको बिहीबार घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य- अन्तरिक्ष अन्वेषणमा विश्व नेतृत्व हासिल गर्ने-को महत्वपूर्ण हिस्सा हो ।
चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजना सुचारु रूपमा अघि बढिरहेका छन् । उहाँले लङ मार्च-१० रकेट, चन्द्र अवतरण पोशाक र अन्वेषण सवारी निर्माणलाई यस दिशामा ‘फलदायी उपलब्धि’का रूपमा वर्णन गर्नुभयो । झाङले भन्नुभयो, ‘सन् २०३० सम्ममा चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य अटल र स्पष्ट छ ।’
यो घोषणासँगै चीनले आफ्नो तियांगोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय गराएको छ । चीनको बढ्दो अन्तरिक्ष क्षमताको अर्को महत्वपूर्ण चरण हो । नयाँ चालक दलमा झाङ लु, वु फेइ र झाङ होङझाङ रहनुभएको छ । आगामी शुक्रबार राति ११ः४४ बजे जियुक्वान प्रक्षेपण केन्द्रबाट प्रस्थान गर्नुह्नेछ ।
झाङ लुले यसअघि सेन्झाउ-१५ मिसनमा सहभागिता जनाइसक्नुभएको थियो भने वु फेइ र झाङ होङझाङका लागि यो पहिलो अन्तरिक्ष यात्रा हुनेछ । उहाँहरूले तियांगोङ अन्तरिक्ष स्टेसनमा पुगेर करिब छ महिनासम्म अनुसन्धान गर्ने योजना छ । यो यात्रामा अन्तरिक्ष यात्रीहरूले दुई भाले र दुई पोथीसहित चारवटा मुसा पनि साथ लैजानेछन् । यी जनावरहरूमा भारहीनता र सीमित वातावरणको प्रभाव अध्ययन गरिनेछ, जसले भविष्यको दीर्घकालीन अन्तरिक्ष यात्रामा जैविक अनुसन्धानका लागि मूल्यवान् जानकारी प्रदान गर्नेछ ।
चीनले सन् २०११ मा अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट अलग भएपछि आफ्नै तियांगोङ, अर्थात् ‘हेभनली प्यालेस’, नामक अन्तरिक्ष स्टेसन निर्माणको काम सुरु गरेको थियो । उक्त कार्यक्रम पिपुल्स लिबरेसन आर्मीको प्रत्यक्ष प्राविधिक समन्वयमा सञ्चालन भइरहेको छ, जसले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता पैदा गरेको छ ।
तियांगोङ अहिले पूर्णरूपमा सञ्चालनमा छ र चीनले यसलाई पृथ्वीको कक्षमा दीर्घकालीन वैज्ञानिक प्रयोगशाला बनाउने लक्ष्य लिएको छ । प्रत्येक नयाँ टोलीले त्यहाँ सूक्ष्म गुरुत्वाकर्षण, जैविक अनुकूलन र प्राविधिक परीक्षणमा अनुसन्धान गर्छ ।
विश्लेषकहरूका अनुसार चीनको सन् २०३० लक्ष्य विश्वका अन्य अन्तरिक्ष शक्तिहरू-अमेरिका र रूससँगको प्रतिस्पर्धामा निर्णायक कदम हुनेछ । सबै योजना सफल भए चीन सो समयसम्म चन्द्रमामा मानव अवतरण गराउने दोस्रो देशका रूपमा स्थापित हुनेछ । रासस/एपी