महिला विश्वकपको नयाँ च्याम्पियन बन्ने दाउमा भारत र दक्षिण अफ्रिका
आईसीसी एकदिवसीय महिला विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका पहिलो पटक आमने–सामने हुँदै छन्। दशकौंको संघर्ष, चुनौती र निराशालाई पार गर्दै यी दुई टोलीले आफ्नो यात्रालाई निर्णायक मोडसम्म पुर्याएका छन्। यो फाइनलले महिला विश्वकप क्रिकेटमा नयाँ च्याम्पियनसमेत दिने छ।
नवी मुम्बईको डीवाई पाटिल स्टेडियम खेल अपरान्ह सवा ३ बजे सुरु हुनेछ। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा इङ्ल्यान्डलाई १ सय २५ रनको फराकिलोअन्तरले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको हो।
दोस्रो सेमिफाइनलमा सात पटकको विश्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै भारतले तेस्रो पटक महिला विश्वकप फाइनलमा स्थान बनाएको थियो।
रोचक के छ भने, समूह चरणमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराएको थियो भने अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो। त्यसका बाबजुद पनि दुबै टोली पहिलो विश्वकप उपाधिको नजिक पुग्न सफल भए।
समूह चरणमा दक्षिण अफ्रिकाले ७ खेलमध्ये ५ जित र २ हारसहित १० अंक बटुलेर तेस्रो स्थान हासिल गर्यो। भारतले ७ खेलमा ३ जित, ३ हार र १ बिनातिजासहित ७ अंक बटुलेर चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो।
भारतले आफ्नो अभियान सुरूवात सह–आयोजक श्रीलंकाविरूद्ध, वर्षा बाधक भएको खेलमा ५९ रनको जितसहित गर्यो। त्यसपछि पाकिस्तानलाई ८८ रनले हराउँदै लगातार दुई जित हात पारेको थियो। तर त्यसपछि भारतले लगातार तीन खेलमा हारको सामना गर्नुपर्यो। दक्षिण अफ्रिकासँग तीन विकेट, अस्ट्रेलिया र इंग्ल्यान्डसाग क्रमशः तीन विकेट र चार रनले पराजित भएको थियो। तर न्यूजिल्यान्डसँगको खेलमा स्मृति मंदाना र प्रतिका रावलको उत्कृष्ट प्रदर्शनले भारतलाई विशाल योगफलसम्म पुर्याएको थियो।
इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदा दक्षिण अफ्रिकाले निराशाजनक सुरूवात गरेको थियो। तर त्यसपछि टोलीले लगातार पाँच खेल जित्दै पुनरागमन गर्यो। न्यूजिल्यान्ड, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले अफ्रिकी टोलीको चुनौती सामना गर्न सकेनन्।
४५ हजारभन्दा बढी दर्शकमाझ हुने खेल निकै रोमाञ्चक हुने आश गरिएको छ।