झापाका साहित्यकार गणेशप्रसाद नेपालको निधन
झापा चन्द्रगढीका साहित्यकार तथा पूर्वशिक्षक गणेशप्रसाद नेपालको ८२ वर्षको उमेरमा आज काठमाडौँमा निधन भएको छ ।मुटु, प्रोस्टेटलगायतका स्वास्थ्य समस्याका कारण करिब तीन सातादेखि उनी काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत थिए । उपचारकै क्रममा आज बिहान साढे १० बजे नेपालको निधन भएको उनका ज्वाइँ डेनी निरौलाले जानकारी दिए ।
२०२८ सालदेखि शिक्षण पेसामा संलग्न नेपालले भोजपुर, धरान र झापामा विभिन्न विद्यालय तथा संस्कृत विद्यापीठहरूमा करिब पाँच दशक अध्यापन गरेका थिए । २०७१ सालमा सेवाबाट अवकाश लिएपछि उनी साहित्य सिर्जनामा सक्रिय भएका थिए । उनका परदेशको व्यथा (काव्य, २०७२) र समयका कविता (२०८०) प्रकाशित कृतिहरू हुन् । गुनीको गाना (नीति काव्य) प्रकाशनको अन्तिम तयारीमा थियो । ‘तेस्रो कृति लेखिसिद्ध्याएर प्रकाशनको तयारीमा थियो,’ कान्छा छोरा तथा साहित्यकार रत्नमणि नेपालले भने,‘तेस्रो कृति हेर्ने बुबाको इच्छा अधुरै रह्यो ।’
२००१ साउन २१ गते भोजपुरको कोट गाविसमा जन्मिएका नेपाल २०४० को दशकदेखि चन्द्रगढीमा बसोबास गर्दै आएका थिए । नेपालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती दुई छोरा र तीन छोरी छन् ।