सशस्त्र द्वन्द्वका १९ कमाण्डरमध्ये ५ जनामात्र ‘नेपाली कम्युनिस्ट पार्टी’ मा
काठमाडौँ । तत्कालीन माओवादीले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’ सुरु ग¥यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’का क्रममा बलिदानी दिए ।
माओवादीबाट विभिन्न समयमा विभाजित भएर छुट्टाछुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि सक्रिय छन् । कतिपय नेताले नेतृत्व गरेको पार्टी अन्य कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न बाध्य भए । केही नेता माओवादीबाट विद्रोह गरे पनि पुनः माओवादीमै फर्किएको इतिहास छ । विगतमा माओवादी विभाजन मात्रै भएको छैन, यसबीचमा विभिन्न कम्युनिस्ट विचार बोकेका पार्टीसँग एकीकरणसमेत भएको छ ।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सशस्त्र ‘जनयुद्ध’को घोषणा भएको थियो । आज त्यही माओवादी विभिन्न पार्टीसँग एकता गर्दै ‘नेपाली कम्युनिस्ट पार्टी’ भएको छ । माओवादी केन्द्रको इतिहास हेर्दा विगतमा विभाजन र एकीकरण उस्ताउस्तै देखिन्छ । कहिले विचार मिल्दा पार्टी एकीकरण भएको देखिन्छ भने कहिले विचार नमिल्दा विभाजन भएको माओवादीको इतिहास लामो रहेको देखिन्छ ।
१९ कमाण्डर को कता ?
सशस्त्र विदोह थाल्दा माओवादी केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये ५ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।
‘जनयुद्ध’ घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, स्व.पोस्टबहादुर बोगटी, रामबहादुर थापा ‘बादल’, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व. यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।
यी १९ कमाण्डरमध्ये ५ जना मात्र प्रचण्डसँगै छन् । प्रचण्डसँग रहेका नेताहरूमा हरिबोल गजुरेल, मातृका यादव, देव गुरुङ, पम्फा भुसाल र अग्नि सापकोटा छन् । यादव माओवादीबाट विद्रोह गरेर केही समय आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरेर सक्रिय थिए । पछि पुनः माओवादीमै फर्किए । फणीन्द्र आचार्य भने अहिले निष्क्रिय छन् । कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको नेतृ पम्फा भुसालले जनाएकी छन् ।
मोहन वैद्य ‘किरण’ले नेकपा क्रान्तिकारी पार्टी गठन गरे । अहिले वैद्यले सो पार्टीको महासचिवबाट हालै राजीनामा दिएका छन् । फरक मत राख्दै छुट्टै पार्टी गठन गरेका वैद्यको पार्टीमा ती १९ मध्येका सीपी गजुरेल, हरिभक्त कँडेल, दिनेश शर्मा सागर छन् । अहिले यो पार्टीको महासचिवको जिम्मेवारीमा गजुरेल रहेका छन् ।
डा. बाबुराम भट्टराईले संविधान घोषणापश्चात् नयाँ शक्ति पार्टी गठन गरे । केही समयपछि उनले संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर अहिले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षका रूपमा सक्रिय थिए । हालै उनले नेसपा (नयाँ शक्ति)को अध्यक्षबाट राजीनामा दिएर संरक्षकको भूमिकामा छन् ।
पोस्टबहादुर बोगटीको हृदयाघातका कारण मृत्यु भइसकेको छ भने लोकेन्द्र विष्ट राजनीति छोडेर कृषि पेसामा सक्रिय छन् । नारायणप्रसाद शर्माले माओवादीबाट विद्रोह गरिसकेका छन् ।
बादल र रायमाझी एमालेमा छन् । एमालेको १०औँ महाधिवेशनबाट बादल उपाध्यक्ष र रायमाझी सचिवमा निर्वाचित भएका थिए । रायमाझी भुटानी शरणार्थी काण्डमा अहिले जेलमा छन् । यानप्रसाद गौतम राज्यपक्षबाट मारिए भने दण्डपाणि न्यौपाने बेपता पारिएका छन् ।
माओवादीले सशस्त्र ‘जनयुद्ध’को घोषणा गर्दै भूमिगत भएको बेला उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । ‘जनयुद्ध’कै बेला विभिन्न समयमा केन्द्रीय सदस्यमा मनोनीत गर्दै जाँदा ९९ सदस्यीय समिति भएको थियो ।
माओवादीको केन्द्रीय सदस्यहरूको विवरण हेर्दा २०५२ सालमा ‘जनयुद्ध’ थाल्नुअघि केन्द्रीय समितिमा १९ जना थिए । २०५५ सालको चौथो विस्तारित बैठकबाट ३५ सदस्यीय केन्द्रीय समिति बनेको थियो । त्यसबीचमा धेरै नेताहरू बढुवा भएर केन्द्रीय समितिमा आएका थिए ।
माओवादीले २०५८ सालपछि केन्द्रीय कमिटीको संख्या बढाउँदै लग्यो । १९ सदस्यीय केन्द्रीय समितिबाट ३५ सदस्यीय केन्द्रीय समिति बन्यो । ३५ सदस्यीय केन्द्रीय समितिबाट ९९ सदस्यीय बन्यो । १ सय २४, १ सय ५० सदस्यीय हुँदै ३ जेठ २०७५ मा एमालेसँग एकतासमेत भयो । एमालेसँग एकता हुनुभन्दा अघिसम्म माओवादी केन्द्रको ४ हजार सदस्यीय केन्द्रीय कमिटीको अभ्यास पनि भएको थियो ।
२०५२ सालमा प्रचण्डको नेतृत्वमा १९ सदस्यीय केन्द्रीय समिति थियो । ‘जनयुद्ध’मा होमिनुअघि बसेको केन्द्रीय समितिको बैठकमा नेताहरू निकै भावुक देखिन्थे । बन्दुक बोकेर हिँडिसकेपछि अब कोको बाँचिएला, फेरि भेट होला कि नहोला भन्दै उनीहरूले सामूहिक तस्बिर खिचाएका थिए । तर, त्यो तस्बिर अहिलेसम्म सार्वजनिक भएको छैन ।
‘जनयुद्ध’कालका केन्द्रीय सदस्य
‘जनयुद्ध’कै क्रममा विभिन्न समयमा केन्द्रीय समितिमा नेताहरू मनोनीत भए । अहिलेको चर्चित केही नेतापछि ‘जनयुद्ध’का क्रममा मनोनीत भएका थिए । २०५५ सालमा चौथो विस्तारित बैठकबाट विप्लव, वर्षमान, जनार्दनलगायतका नेताहरू केन्द्रीय सदस्यमा एकसाथ मनोनीत भएका थिए । त्यसपछि २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनमा थप नेताहरू केन्द्रीय सदस्यमा आएका थिए ।
२०५३ सालमा हेमन्तप्रकाश वली ‘सुदर्शन’ र कृष्णबहादुर महरा केन्द्रीय समितिमा मनोनीत भएका थिए । यस्तै, २०५५ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’, हितमान शाक्य, चन्द्रप्रकाश खनाल ‘बलदेव’, वर्षमान पुन, जनार्दन शर्मा ‘प्रभाकर’, शक्तिबहादुर बस्नेत, मणि थापा, रवीन्द्र श्रेष्ठ केन्द्रीय समितिमा मनोनीत भएका थिए ।
यसैगरी, २०५७ सालको सम्मेलनबाट देवेन्द्र पौडेल हिसिला यमी, राम कार्की, धर्मेन्द्र बास्तोला, हितराज पाण्डे, नन्दकिशोर पुन ‘पासाङ’ (पूर्वउपराष्ट्रपति), कुलबहादुर केसी ‘सोनाम’ (लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री), खड्गबहादुर विश्वकर्मा, दिनानाथ शर्मा केन्द्रीय समितिमा आएका हुन् ।
२०५९–६० मा इन्द्रमोहन सिग्देल, गोपाल किराँती, प्रभु साह, हितबहादुर तामाङ, नारायण दाहाल, सूर्य सुवेदी ‘पथिक’लगायतका नेताहरू केन्द्रीय समितिको सदस्य भएका थिए ।
‘जनयुद्ध’कालीन ३५ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये १८ भन्दा बढी नेताहरूले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छोडिसकेका छन् । केहीले छुट्टै पार्टी गठन गरेका छन् भने केही नेता अर्कै पार्टीमा गइसकेका छन् ।
वैद्य, डा. भट्टराई, विप्लव, बादल, रायमाझी, किराँती, भट्ट, विष्ट, सिग्देल, वली, बास्तोला, विश्वकर्मा, यमी, गजुरेल, कँडेल, साहलगायतका नेताहरूले माओवादी छाडिसकेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।