झापामा मोटरसाइकलको ठक्करबाट घाइते भएका दुईजनाको मृत्यु
झापामा मोटरसाइकलको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ । करिब पाँच महिनाअघि गत जेठ २५ गते राति ९ः४५ बजे मेचीनगर –७ स्कुलडाँगीस्थित भित्री सडक खण्डमा मदन बस्तीबाट इटाभट्टातर्फ आउँदै गरेका साइकल यात्रीलाई सोही दिशातर्फ आउँदै गरेको मे.७ प.५००६ नं.को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा साइकल यात्री सोही ठाउँ बस्ने वर्ष ६० का क्षितिज राजवंशी घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा गत भदौ ९ गते उनी उपचारपश्चात् डिस्चार्ज भएका थिए । आज दिउँसो १;३० बजे उनको आफ्नै घरमा मृत्यु भएको हो । मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं.७ बस्ने वर्ष ४० का काल्टु राजवंशी अंगभंग कसुरमा कारागारमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्रीको मृत्यु भएको छ । दुई दिनअघि बुधवार साँझ ७.२५ बजे बिर्तामोड १ अञ्जली अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट पैदल यात्री अर्जुनधारा ४ बस्ने ५५ वर्षीय कृष्णबहादुर मगर गम्भीर घाइते भएका थिए ।
कन्यामबाट पश्चिम दुहबीतर्फ जाँदै गरेको प्र १–०२–००१ प ३५५७ न.को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । मगरलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा आज दिउँसो ३ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका वडा नं. ६ बस्ने २० वर्षीय वसन्त माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।