भारतको दिल्लीमा कार बम विस्फोट, कम्तिमा ११ जनाको मृत्यु, २४ घाइते
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै कार बम विस्फोटमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सोमबार साँझ दुर्घटनापछि भागदौड मच्चिएको थियो ।
विस्फोटको तीव्रता यति धेरै थियो कि, लाल किल्ला नजिकै अवस्थित लाल मन्दिरमा कारको एउटा टुक्रा खसेको थियो । यस घटनामा मन्दिरका सिसाहरू फुटेका छन् भने वरपरका धेरै पसलका ढोका र झ्यालहरूमा क्षति पुगेको छ ।
विस्फोटलगत्तै वरपरका पसलहरूमा आगलागी भएको थियो । चाँदनी चोकको भागीरथ प्यालेस इलाकासम्म कम्पन महसुस गरिएको थियो र पसलेहरू एकअर्कालाई फोन गरेर अवस्थाबारे सोधपुछ गरिरहेका थिए ।
यसैबिच धेरै बस र अन्य सवारी साधनहरूमा पनि आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । दमकल विभागलाई कार विस्फोटको सूचना साँझ प्राप्त भएको थियो । त्यसलगत्तै विभागले तत्काल छ वटा एम्बुलेन्स र सातवटा दमकल घटनास्थलमा पठाएको थियो । हाल राहत र उद्धार कार्य जारी छ र आगो निभाउने प्रयास भइरहेको छ ।