२०८२ माघ ५ गते , सोमबार

सीमामा सुरक्षा चुनौती र चोरीनिकासी बढ्यो, सशस्त्रले खटायो एसएसपी

sajilo news
झापा
२०८२ कार्तिक २६ गते , बुधबार
सीमामा सुरक्षा चुनौती र चोरीनिकासी बढ्यो, सशस्त्रले खटायो एसएसपी

सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ। 

सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको एकाइमा बसी दैनिक तथा साप्ताहिक रूपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्नेछन्।

निश्चित समयमा उनीहरूले गरेका कार्य प्रभावकारी देखिएमा सङ्गठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरूका ठाउँमा अरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई जिम्मेवारी तोकी खटाउनुका साथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरूले समेत प्रत्यक्ष रूपमा सम्पर्क गर्नसक्ने व्यवस्थसमेत मिलाइएको सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयले जनाएको छ।

वरिष्ठ उपरीक्षकहरूमध्ये कोशी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी तथा मधेस प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमानाकाको समेत निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेललाई खटाइएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रूपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमानाकाको निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजीत र सुदूरपश्चिम प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमानाकाको निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गङ्गाराम श्रेष्ठलाई खटाइएको छ ।

उनीहरूलाई उल्लेखित फोन नम्बरमा आमसर्वसाधारण तथा सरोकारवाला सबैले फोन गरेर राजस्व चुहावटलगायत सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि नियन्त्रणमा सम्बन्धमा सम्पर्क गर्न सकिनेछ। उनीहरू बोर्डर आउट पोस्टमा नै बस्ने र त्यहीँबाट सीमा क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी र रोक्ने कार्य गर्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ। 

सम्बन्धित समाचार