अमेरिकामा ४३ दिन लामो शटडाउनको अन्त्य
अमेरिकाको ४३ दिन लामो शटडाउन अन्त्य भएको छ। अमेरिकी प्रतिनिधिसभाले संघीय सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्दै इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गरेको हो।
अमेरिकी समय अनुसार बुधबार राति रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभामा भएको मतदानमा २ सय २२ सांसदले विधेयकको समर्थन गर्दा २ सय ९ सांसदले विरोध गरे। समर्थन गर्नेहरूमध्ये ६ जना डेमोक्र्याट सांसद थिए भने दुई जना रिपब्लिकनले विपक्षमा मतदान गरेको रोयर्टसले जनाएको छ।
यससँगै लामो समयदेखि रोकिएको विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि ह्वाइट हाउस पठाइनेछ। यसअघि सोमबार राति अमेरिकी सिनेटले पनि यो खर्च विधेयकलाई ६०–४० मतान्तरले पारित गरेको थियो।
विधेयकले जनवरी ३० सम्म सरकार सञ्चालन गर्ने व्यवस्था गरेको छ र छ हप्तादेखि तलबविनै बसेका लाखौं संघीय कर्मचारीलाई पुनः तलब पाउने बाटो खोलिदिएको छ। सरकार बन्द हुँदा अत्यावश्यकबाहेकका सबै सरकारी सेवा ठप्प भएका थिए।