२०८२ कार्तिक ३० गते , आईतबार

बिहार चुनाव : एनडीएलाई दुईतिहाई, भाजपा बन्यो सबैभन्दा ठूलो दल

sajilo news
एजेन्सी
२०८२ कार्तिक २९ गते , शनिबार
बिहार चुनाव : एनडीएलाई दुईतिहाई, भाजपा बन्यो सबैभन्दा ठूलो दल

भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल दुई सय ४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न भएको हो । जसमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुईतिहाई मत प्राप्त गरेको छ ।

एनडीए गठबन्धनले दुई सय दुई सिट जितेको छ । त्यस्तै, भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीत निकालेको छ । दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जित्यो ।

त्यस्तै एनडीएमा सामेल चिराग पासवानको लोकजनशक्ति पार्टी (रामविलास )ले १९ सिट जितेको छ भने जीतनराम मांझीको हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) लाई पाँच सिट मिलेको छ । त्यस्तै उपेन्द्र कुशवाहाको पार्टी राष्ट्रिय लोक मोर्चाले चार सिट जित्न सफल बनेको छ ।

उता राष्ट्रिय जनता दल (आरजेडी)को नेतृत्वमा रहेको महागठबन्धन ३४ सिटमा सीमित भएको छ । राष्ट्रिय जनता दललाई मात्र २५ सिटमा चित्त बुझाउनु परेको छ भने सहयोगी दल कांग्रेसलाई ६ सिट प्राप्त भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माले) लिबरेशनलाई दुई सिट मिलेको छ । जबकि असदुद्दीन औवेसीको पार्टी एआईएमआईएमले पाँच सिट जित्न सफल बनेको छ भने इन्डियन इन्क्लुसिव पार्टी, माकपा र बहुजन समाज पार्टीलाई एक–एक सिट प्राप्त भएको छ ।

बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाव आफ्नो पक्षमा देखिएको बताएका छन् ।उनले यो जीतलाई ‘सुशासनको जीत’ बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार