भद्रपुर नाकामा चिनीको पोकामा लागूऔषध ब्राउनसुगर फेला परेपछि...
झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । आज बिहान ११ः५० बजे झापा गाउँपालिका-५ खाताबस्तीस्थित सशस्त्र प्रहरी बल बिओपी पन्तापाडाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल-३ कर्खा बस्ने २८ वर्षीय दिलिपकुमार भुजेललाई लागूऔषधसहित पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ८ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
त्यस्तै आज साँझ ७ः४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१५ प ५३३ नं. मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक हल्दिबारी-२ बस्ने राम मर्डी र वडा नं ३ बस्ने धनबहादुर बनले मोटरसाइकलको बिचमा चिनीको पोकामा प्लाष्टिकको पोका पारी लुकाईछिपाई ल्याउँदै गरेको ३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो । दुबै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिप्रका झापा पठाइएको छ ।