२०८२ माघ ५ गते , सोमबार
झापामा २० जना थुनुवा पक्राउ, ७२ जना अझै फरार
झापाका प्रहरी कार्यालयहरूबाट जेनजी आन्दोलनमा भागेका २० जना थुनुवा पक्राउ परेका छन् । भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरूले झापामा गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएका थिए ।
त्यसमध्ये २० जना पक्राउ परेको र फरार रहेका ७२ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवाहरूलाई भगाइएको थियो । त्यस्तै अन्य जिल्लाका कारागारबाट भागेर आएका १५ जना कैदीबन्दीलाई झापा प्रहरीले पक्राउ गरी सम्बन्धित कारागारमा पठाएको छ ।