२०८२ माघ ५ गते , सोमबार

फुजुल खर्च कटौती गरी सडक तथा पुल बनाउँदै हल्दिबारी गाउँपालिका

sajilo news
झापा
२०८२ पौष २ गते , बुधबार
फुजुल खर्च कटौती गरी सडक तथा पुल बनाउँदै हल्दिबारी गाउँपालिका

झापा । झापाको हल्दिबारी गाउँपालिकाकाले अतिरिक्त फुजुल खर्च कटौती गरी विकास निर्माणको कार्यलाई तीव्रता दिएको छ ।  बाँसे तथा काठे पुलमुक्त अभियान स्वरूप भर्खरै तीन वटा बक्स कल्भर्ट पुल उद्घाटन गरी सञ्चालनमा ल्याएको हल्दिबारी गाउँपालिकाले पछिल्लो समयमा कालोपत्रे सडक निर्माण कार्यलाई तीव्रता दिएको हो । गाउँपालिकाले वडा नम्बर १ ओमचोकदेखि वडा नम्बर ५ धनुषा आविसम्म निर्माण गरेको २ किलोमिटर ३३० मिटर नवनिर्मित लामो कालोपत्रे सडकको बुधवार एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका लिङ्देनले जनप्रतिनिधि र कर्मचारी इमानदार भए समयमै अगावै विकास निर्माणका काम सम्पन्न हुन सक्ने बताएका छन् । 

भ्रष्टाचारमुक्त समाज निर्माणमा जनताको भोटबाट निर्वाचित सबै जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्दै लिङ्देनले भने, ‘सबैको खबरदारीका कारण आफ्नै पालिकामा समय अगावै विकास निर्माण कामहरू धमाधम उद्घाटन भई सञ्चालन भइरहेकोले पालिकालाई धन्यवाद समेत दिएका छन् । 

सात वर्षको छोटो अवधिमै हल्दिबारीका हरेक वडामा पुल, कल्भर्ट तथा कालोपत्रे सडकहरू जनताको आवश्यकता अनुसार निर्माण गरिरहेकोले यसको श्रेय यहाँका जनप्रतिनिधि र कर्मचारीलाई दिनुपर्छ । 

सबै काममा खानै पर्छ, चोर्नै पर्छ भन्ने कारणले हाम्रो देश बन्न नसकेको जिकिर गर्दै उनले भने, ‘भ्रष्टाचारमुक्त देश बनाउन हामी सबै लागि परे अबको १० वर्षमै देश पनि बन्छ र सबैले रोजगारी पनि पाउँछ ।’ 

सङ्घीय सरकारको रु एक करोड १० लाख र गाउँपालिकाको रु एक करोड ५५ लाख ४३ हजारको लागतमा दुई हजार ३३० मिटर कालोपत्र र ३१० मिटर इन्टरलक सडक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिए । पार्वती–अम्बिका ग्लोबल भीमेश्वर जेभीले ५.५ मिटर चौडाइको २ किलोमिटर ३३० मिटर लम्बाई भएको कालोपत्रे सडकको काम दुई महिना अघि नै सम्पन्न भएको हो । पालिकामा विकास निर्माण कामलाई तीव्रता दिन पालिकाबाट हुने सबै फुजुल खर्च कटौती गरिएको अधिकृत वनले बताए । 

गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, १ नम्बर वडाध्यक्ष देवीबहादुर थापा, नेपाली काँग्रेस हल्दीबारीका कोषाध्यक्ष राजेन्द्र ओलीलगायतले मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार