२०८२ माघ ५ गते , सोमबार

दमकबाट भागेका दुईजना थुनुवा पक्राउ

sajilo news
झापा
२०८२ पौष ५ गते , शनिबार
दमकबाट भागेका दुईजना थुनुवा पक्राउ

जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट भागेका दुईजना थुनुवा एकैदिन पक्राउ परेका छन् । आज पक्राउ पर्नेहरूमा गौरादह बस्ने वर्ष २५ का लुखीराम बास्के र कमल –५ बस्ने वर्ष २६ का सञ्जीव लिम्बू रहेका छन् । दुवै जनामाथि लागूऔषधको मुद्दा रहेको छ । दुवै जना भदौ २४ गते जेनजी आन्दोलनका बेला दमक प्रहरीको हिरासतबाट भागेका थिए ।

आज साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट गएको टोलीले बास्केलाई गौरादह १ बाट नियन्त्रणमा लिएको हो । त्यस्तै इप्रका दमकबाट खटिएको टोलीले बिहान ९ः३० बजे कमल–५ बाट लिम्बूलाई नियन्त्रणमा लिएको जनाएको छ । दुवैलाई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ ।

जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ३२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये हालसम्म ८ जना थुनुवा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवाहरूको मिसिल नहुँदा दमक प्रहरीले पक्राउ गर्न सकेको छैन ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरूको मिसिल जलेर नष्ट भएको थियो । घटनास्थलको सर्जमिन मुचुल्काको अभावमा धेरै फरार थुनुवाहरूलाई पक्राउ गर्न नसकिएको डीएसपी लम्सालले बताए । उनले केही फरार थुनुवाहरू सम्पर्कमा रहेको बताउँदै मिसिल बनाएर थुनुवाहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको जानकारी दिए ।

जेनजी आन्दोलनका बेला झापाका तीन वटा प्रहरी कार्यालयहरूबाट ९२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये ७२ जनामाथि मुद्दा दर्ता भएको थियो भने २० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३४ पुरुष र एक महिला गरी ३५ जना थुनुवा फरार भएकोमा हालसम्म एक महिला र १७ पुरुष गरी १८ जना पक्राउ परेका छन् ।१७ जना अझै फरार छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना थुनुवा फरार रहेकोमा ४ जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् । बिर्तामोड , दमक र झिलझिले प्रहरी कार्यालयबाट दुई महिलासहित ७२ जना थुनुवा फरार रहेकोमा हालसम्म एक महिलासहित २८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । फरार रहेका ४४ जनाको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार