बिर्तामोड वडा नं. ३ सेमिफाइनलमा
बिर्तामोड । सहिद नेत्र पार्क खेल मैदानमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ३ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नं. ३ ले वडा नं. ९ लाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । वडा नं. ३ को लागि आशिष् चापागाईँले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरे । वडा नं. ९ का राम मर्डीले खेलको अन्त्यतिर सान्त्वना १ गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच विजेता टोली वडा नं. ३ का आशिष् चापागाईँ भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । मङ्गलवारको खेल वडा नं. २ र वडा नं. २० बीचमा हुने जनाइएको छ ।
सोमवार सोही मैदानमा भएको दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताबाट वडा नं. ३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
वडा नं. ३ ले वडा न ९ लाई ३–२ गोल अन्तरले पराजित गरेको छ । वडा नं. ३ का लागि, विष्णु सुब्बा, पदम बस्नेत र किशोर ओलीले समान १ गोल गरेका थिए । वडा उमेश राई र राजन मगरले गोल गर्न सफल भए ।
खेलको प्लेयर अफ द म्याच वडा नं. ३ का पहिलो गोलकर्ता विष्णु सुब्बा घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
भेट्रान्स अन्तर्गतको मङ्गलवारको क्वाटरफाइनल खेल वडा नं. २ र वडा नं. १० बीच हुने आयोजकले जनाएको छ । भेट्रान्स प्रतियोगिताको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।