२०८२ माघ ५ गते , सोमबार

सङ्खुवासभा अस्पतालमा पहिलो पटक समयपूर्व जन्मिएको शिशुको सफल उपचार

sajilo news
रासस
२०८२ पौष ११ गते , शुक्रबार
सङ्खुवासभा अस्पतालमा पहिलो पटक समयपूर्व जन्मिएको शिशुको सफल उपचार

सङ्खुवासभा । जिल्ला अस्पतालमा पहिलोपटक अत्यन्त कम तौल तथा समयपूर्व जन्मिएको नवजात शिशुको सफल उपचार भएको छ । उक्त सफलताले दुर्गम जिल्लामा स्वास्थ्य सेवाप्रति भरोसा बढाएको छ । सात महिनामै जन्मिएका एक किलो ७५० ग्राम तौलको नवजात शिशुको अवस्था जटिल बनेको थियो । अस्पतालका अनुसार शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि तत्काल भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

प्रारम्भिक उपचारका क्रममा तौल घटेर एक किलो ५०० ग्राम पुगेपछि थप विशेषज्ञ उपचारका लागि शिशुलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो ।

नोबेल मेडिकल कलेजमा सात दिन भेन्टिलेटरमा राखी उपचार गराएपछि शिशुलाई पुनः जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । अस्पतालमा हालै जडान गरिएको अत्याधुनिक इन्क्युबेटरमा राखी निरन्तर निगरानीसहित उपचार सुरु गरिएपछि शिशुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएको उपचारमा संलग्न चिकित्सक टोलीले जनाएको छ ।

बालरोग विशेषज्ञ डा शान्ति शिवाकोटीका अनुसार शिशुलाई दुई दिन एनआइसीयुमा विशेष निगरानीमा राखिएको थियो भने १८ दिनसम्म इन्क्युबेटरमा राखेर सघन उपचार गरिएको हो । नर्सिङ टोलीको निरन्तर हेरचाहका कारण हाल शिशुको तौल बढेर एक किलो नौ सय ग्राम पुगेको उनले जानकारी दिइन् । इन्क्युबेटरको सुविधा नभएको भए जिल्लामै शिशुको उपचार सम्भव नहुने उनको भनाइ थियो ।

जिल्ला अस्पतालमै उपचार सम्भव हुने जानकारी पाएपछि परिवारले आफ्नै जिम्मेवारीमा विराटनगरबाट शिशुलाई खाँदबारी ल्याएर उपचार गराएका थिए । अस्पताल प्रशासनका अनुसार उक्त शिशुको सम्पूर्ण उपचार निःशुल्क रूपमा गरिएको जानकारी दिएको छ ।

सभापोखरी गाउँपालिका–१ धुपुकीकी १७ वर्षीया प्रविना लिम्बूले गत मङ्सिर ८ गते शिशुलाई जन्म दिएकी थिइन् । करिब एक महिनासम्मको उपचारपछि आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य बनेपछि बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

जिल्ला अस्पतालले हालै नर्सिङ ट्रस्ट बेलायतबाट दुई अत्याधुनिक इन्क्युबेटर प्राप्त गरेको थियो । अस्पताल प्रमुख डा सन्तोष देवका अनुसार यी उपकरण प्राप्त भएपछि समयपूर्व जन्मिने तथा कम तौलका शिशुको उपचार स्थानीयस्तरमै सम्भव भएको छ ।

यसअघि यस्ता जटिल अवस्थाका शिशुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेकामा अब भने जिल्लामै सुरक्षित वातावरणमा उपचार गर्न सकिने भएकाले नवजात शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

सम्बन्धित समाचार