२०८२ माघ ५ गते , सोमबार

हलिउडकी अभिनेत्री इमानीको हत्या प्रकरणमा उनकी प्रेमी पक्राउ

sajilo news
एजेन्सी
२०८२ पौष ११ गते , शुक्रबार
हलिउडकी अभिनेत्री इमानीको हत्या प्रकरणमा उनकी प्रेमी पक्राउ

लस एन्जलस । हलिउड अभिनेत्री इमानी डिया स्मिथको हत्या प्रकरणमा उनका ३५ वर्षीय प्रेमी जोर्डन डी. ज्याक्सन स्मललाई प्रहरीले पक्राउ गरेको छ । स्मलले प्रहरी समक्ष हत्याको बारेमा पहिलो चरणको बयानमा अस्वीकार गरेका छन् । उनीसँग बयानको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ९ः१८ बजेतिर ९११ मा आपत्कालीन फोन आएको थियो । सो फोन पछि प्रहरी उनको घर पुग्दा इमानीलाई चक्कुले गम्भीर चोट लागेको अवस्थामा फेला पारिएको थियो। उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । तर निरन्तर उपचार गर्दा पनि डाक्टरहरूले उनको ज्यान बचाउन सकेनन् ।

हलिउडका चलचित्रहरूमा सह नायिकाको रूपमा अभिनय गर्दै आएकी २५ वर्षीय इमानी स्टेज प्ले ‘द लायन किंग’ की मुख्य नायिका हुन् । उनको यो लोकप्रिय नाटक हो । इमानीको आमा हलिउड चलचित्रहरूमा ‘हेयर स्टाईलिस्ट’ थिइन् । आमाको संगतले उनी हलिउड चलचित्रसँग जोडिएकी थिइन् । सानै उमेर देखि अभियनमा जोडिएकी उनले थिएटरसँगै विभिन्न वेभ सिरिजमा पनि काम गरेकी थिइन् । २१ डिसेम्बर राती न्यु जर्सीस्थित उनको घरमा छुरा हानेर घाइते बनाइएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

हलिउड चलचित्र निर्माता एवम् अभिनेता रोब रेनर र उनकी श्रीमती मिशेल रेनरको उनीहरुका ३२ वर्षीय छोरा निक रेनरले हत्या गरेका एक साता नवित्दै अभिनेत्री इमानी डिया स्मिथको हत्या भएको छ । यसरी चलचित्रकर्मीको एकपछि अर्को गर्दै हत्या हुनु दुःखद समाचार भएको त्यहाँका चलचित्रकर्मीहरुले बताएका छन् ।

उनको हत्याको खबरले आफूहरू स्तब्ध भएको भन्दै हलिउड थिएटरकर्मीहरूले इमानीको हत्यारालाई खोजेर चाँडै सार्वजनिक गर्न न्यु जर्सी प्रहरीलाई अपिल गरेका छन् । प्रहरीले पनि यो प्रकरणमा आफूहरू निकै संवेदनशील भएर अनुसन्धानमा लागिरहेको हलिउडकर्मीलाई बताएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले इमानीका ३५ वर्षीय प्रेमी जोर्डन डी. ज्याक्सन–स्मललाई पक्राउ गरेको छ। अनुसन्धानले स्मलले इमानीलाई चिनेको कुरा स्विकारेका छन् । आफू प्रेममा रहेको पनि उनले बताएका छन् । त्यसैले यो आक्रमण कुनै अपरिचित व्यक्तिले नगरेको र स्मलले नै गरेको प्रहरीको अनुमान छ । उनीसँग संदिग्धलाई खोजी पनि गरिएको छ । प्रहरीका अनुसार यो घटनाको अनुसन्धान जारी छ ।

इमानी परिवारबाट छुटेर विशेष कामले एक्लै बस्दै आएकी थिइन् । उनले ३ वर्षको छोराको जिम्मा आमालाई लगाएकी थिइन् । इमानीको हत्यापछि उनको परिवारले ‘गो फन्ड मी’बाट कोष संकलन अभियान पनि सुरु गरेको छ । बिहीबार बेलुकासम्म यो कोषमा ४ लाख ५० हजार अमेरिकी डलर जम्मा भइसकेको छ । परिवारले यो पैसा इमानीको अन्त्येष्टि, कानुनी खर्च, घरको सरसफाइ, पारिवारिक सहयोग र उनको घरपालुवा कुकुरको हेरचाहमा प्रयोग गरिने बताएको छ । उनको पोस्ट मार्टम सम्पन्न भएकाले क्रिसमसमा अन्त्येष्टि गरिने पनि परिवारले जनाएको छ ।

उनकी काकीका अनुसार इमानीले आफ्नो ३ वर्षको छोरा, आमाबाबु, दाजुभाइ दिदीबहिनी र प्रियजनहरूलाई छोडेर गएकी छिन् । धेरै हँसिली, साहसी र प्रतिभाशाली कलाकारको मृत्युले परिवारमा मात्र नभएर सिंगो हलिउड चलचित्र क्षेत्रलाई दुखी बनाएको पनि काकीले बताएकी छिन् ।

सम्बन्धित समाचार