इन्डो–नेपाल मेचीनगर मिडिया कपको लोगो सार्वजनिक
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप–२०८२’ को लोगो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो ।
लोगो ट्रफी आकारमा छ । त्यस भित्र सबैभन्दा माथि फुटबल छ र फुटबल भित्र मेचीनगरका पर्यटकीय स्थलहरू समावेश छन् । लोगोको बीच भागमा नेपाल र भारतको झन्डा अङ्कित छ । उक्त लोगोले नेपाल तथा भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन सन्देश प्रवाह गरेको छ ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा प्रेस क्लब मेचीनगरको संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले सफलताको शुभकामना व्यक्त गरे ।
प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रवीण अधिकारीले गरेका थिए । यही पुस २७ र २८ गतेदेखि हुन लागेको मिडिया कपमा नेपालसहित भारतका दुई गरी ८ वटा पत्रकारको टिम सहभागी हुँदैछन् ।
मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सञ्चारको क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक मिडिया कप आयोजना गरिएको हो ।