चलचित्र ‘धुरन्धर’ले नेपालमा कमायो ९ करोड
भारतमा जस्तै नेपालमा पनि भारतीय चलचित्र ‘धुरन्धर’ले राम्रो व्यापार गरेको छ । दुई साता अघि रिलिज भएको चलचित्र ‘धुरन्धर’ले नेपालमा गएको शनिवार रातीसम्म ९ करोड रुपैयाँको व्यापार गरेको छ । यो चलचित्र तेस्रो हप्तामा पनि नेपालमा अझै चलिरहेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार १० दिन अघि रिलिज भएको हलिउड चलचित्र ‘अवतार ३’ले शनिवारसम्म नेपालमा ४ करोड ६५ लाख ७५ हजार रुपैयाँको व्यापार गरेको छ । तीन साता अघि रिलिज भएको हिन्दी चलचित्र ‘तेरो इश्क मेँ’ले नेपालमा शनिवार रातीसम्म कुल ३ करोड ६२ लाख रुपैयाँको व्यापार गरेको छ ।
पछिल्लो एक महिना यताबाट नेपाली चलचित्रको व्यापार खस्केको छ । १० दिन अघि रिलिज भएको अर्जुन घिमिरे (पाँडे)को चलचित्र ‘झरी पछिको इन्द्रेणी’ले शनिवार रातीसम्म ८ दिनमा नेपालमा जम्मा ६२ लाख ६४ हजार रुपैयाँको मात्र व्यापार गरेको छ । एक साताको यो व्यापार निकै कम हो । बरु आठौँ हप्तामा पनि प्रदर्शन भइरहेको दीपक प्रसाद आचार्यको चलचित्र ‘परान’ले शनिवार रातीसम्म नेपालमा १७ करोड ६७ लाख ३६ हजार रुपैयाँको व्यापार गरेको छ ।
तीन साता अघि रिलिज भएका नेपाली चलचित्र ‘अभिमन्यु ः च्याप्टर १’ बक्स अफिसमा सुपर फ्लप भएको छ । डेढ करोड लागतको यो चलचित्रले जम्मा बक्स अफिसमा जम्मा ६१ लाख ५० हजार रुपैयाँको व्यापार गरेको चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख छ । दुई साता अघि रिलिज भएको शोभित बस्नेतको चलचित्र ‘पीआर’ले पनि शनिवारसम्म नेपालबाट ६ लाख ७५ हजार रुपैयाँको मात्र व्यापार गरेको छ । यो चलचित्र पनि व्यावसायिक रूपमा असफल भएको छ । यस्तै दुई साता अघि रिलिज भएको अर्को नेपाली चलचित्र ‘चिराग’ यो वर्षकै सम्भवतः असफल साबित भएको छ । यो चलचित्रले दुई सातामा जम्मा ६८ हजार ४५० रुपैयाँको मात्र व्यापार गरेको छ ।