भद्रपुर र हल्दीबारी जोड्ने देउनिया खोलामा झोलुङ्गे पुल, निर्माण भएको तीन बर्षपछि उद्घाटन
झापाको दुई पालिका जोड्ने देउनियाँ खोलामा तीन वर्ष अघि सञ्चालनमा आएको झोलुङ्गे पुलको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
भद्रपुर नगरपालिका–७ र हल्दीबारी गाउँपालिका–३ सीमासँग जोडिएको देउनियाँ खोलाको झोलुङ्गे पुलको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
हल्दीबारीको तीन गैरीगाउँ हुँदै भद्रपुरको बुधकरण चिया बगान जोड्ने ११७.४० मिटर लम्बाइको उक्त झोलुङ्गे पुलको उद्घाटन पश्चात् लालीगुराँस झोलुङ्गे पुल भनी नामकरणसमेत गरिएको छ ।
२०७९ साल कात्तिक १० गते निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको उक्त झोलुङ्गे पुलको औपचारिक उद्घाटन भने आज गरिएको हो ।
यहाँका स्थानीयको आउजाउलाई मध्यनजर गरी पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी भद्रपुर नगरपालिका मार्फत बजेट विनियोजन तथा निर्माण प्रक्रिया अघि बढाउन हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले विशेष पहल गरेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ को बजेट अन्तर्गत ९२ लाख रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अघि बढाइएको यो पुल उपभोक्ता समिति तथा सामान खरिद टेन्डरमार्फत करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण भएको जनाइएको छ । पुल सञ्चालन आएपछि यहाँका करिब ५०० घरपरिवार लाभान्वित भएका छन् ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर उपप्रमुख राधा कार्की, हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, हल्दीबारी ३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, हल्दीबारी १ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दिबारी ४ का वडाध्यक्ष सन्तकुमार थापा मगरलगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।