अवतरण गर्ने क्रममा चालकको नियन्त्रण बाहिर गएको थियो बुद्ध एयरको विमान, सबै यात्रु सुरक्षित
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छ । रनवेबाट चिप्लिएर करिब ३०० मिटर टाढा घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्।
अवतरण गर्ने क्रममा जहाज चालकको नियन्त्रण बाहिर पुगेको थियो। जहाजमा ४ जना क्रु मेम्बर र ५१ जना यात्रु सवार थिए। भद्रपुर विमानस्थलमा अवतरण भर्ने क्रममा जहाज रनवेमा चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले बताए। उनका अनुसार सबै यात्रुको सकुशल उद्धार गरिएको छ। प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुका अनुसार बुद्ध एयरको विमान रनवेको बिच भागमा अवतरण हुँदा चिप्लिएर घाँस मैदानमा पुगेको हो ।
विमानले सुरुमै रनवे छुन सकेन । बीच भागमा ल्यान्ड गर्यो । 'ओभर सुट हुन अवस्था पनि भएन र पाइलटले ब्रेक लगाउँदा लगाउँदै पनि रनवे छाडेर घाँस मैदानमा विमान पुग्यो,' एसपी लिम्बुले भने । विमानमा आगो नलागेको कारण ठुलो मानवीय क्षति हुनबाट जोगेको उनको भनाई छ । यात्रुहरू सबै सकुशल छन् । केहीको हातखुट्टामा सामान्य चोट पटक लागेको छ । प्राथमिक उपचार पश्चात् उनीहरू फर्किसकेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए । अहिले पनि घटनास्थलमा प्रहरी तैनाथ छन् ।
एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो। बुद्ध एयरको दुर्घटनापछि काठमाडौँ उड्न लागेको यति एयरको जहाज समेत भद्रपुर विमानस्थलमा अड्किएको छ। घटना लगत्तै बुद्ध एयरले सूचना जारी गरेर प्राविधिक टोली पठाउने तयारी गरेको जनाएको छ।