२०८२ माघ ५ गते , सोमबार

भद्रपुरमा विमान दुर्घटना अपडेट : बुद्ध एयरको जहाज सार्न थप ५० टन क्षमताको क्रेन मगाइयो

sajilo news
झापा
२०८२ पौष १९ गते , शनिबार
भद्रपुरमा विमान दुर्घटना अपडेट : बुद्ध एयरको जहाज सार्न थप ५० टन क्षमताको क्रेन मगाइयो

भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान सुरक्षित ठाउँमा राख्ने काम सुरु भएको छ । आज २ वटा क्रेनले (१३ टन क्षमता) मात्र सार्न नसकेपछि विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाइएको विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए । विमान सार्न ३ वटा क्रेनको आवश्यक परेको जनाइएको छ ।

काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा चिप्लिएर खोल्सामा पुगेको थियो ।

विमानस्थल प्रमुख खत्रीका अनुसार जहाज अप्ठ्यारो ठाउँमा छ, शनिवार दिनभर खोल्सा पुर्ने र सार्ने ठाउँ बनाउने काम भयो । आइतबार सुरक्षित ठाउँमा राखिने छ । दुर्घटनापछि शनिवार बिहानबाट नियमित उडान र अवतरणको काम सुरु भइसकेको उनले जानकारी दिए । राती आएर बास बस्ने जहाज मात्रै नआएको बताइएको छ । उनका अनुसार वरिष्ठ इन्जिनियरहरू आएर आफ्नो काम गरिरहेका छन् । ‘दुर्घटना भएको जहाज प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ’, उनले भने ।

बुद्ध एयरले पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर आएको छ । प्राविधिक टोली लिएर आएको विमान नै भद्रपुर विमानस्थलमा पहिलो पटक अवतरण गरेको थियो ।

सम्बन्धित समाचार