मकवानपुरमा सुमो दुर्घटना, ६ जनाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन । घाइतेहरूको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी सुरेन्द्र थिकेले बताए । मृतकहरूको शव हेटौँडा ल्याइपुर्याइएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उक्त स्थानमा यसअघि पनि ३ वटा हलुका सवारी साधन दुर्घटना भएका थिए ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले सुमोमा सवार घाइते र मृतकको उद्धार गरेको थियो । मृतकहरू ६ जनाको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ । तीन जना घाइतेमध्ये दुई जना बालबालिकाको अवस्था मध्यम रहेको अस्पताल स्रोतले बताएको छ । सुमो गाडी दुर्घटनास्थलमै रहेको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने जनाइएको छ ।