झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव बारे अन्तरक्रिया
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । झापाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको तयारी गरिएको हो ।
सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् झापाका पर्यटकीय क्षेत्रहरूको थप प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ ०७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा आयोजना गर्ने गरी महोत्सवको तयारी गरिएको संघका महासचिव सुमन्त मैनालीले जानकारी दिए । यसै सन्दर्भमा संघले आज संघकै सभा हलमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईको अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा झापाका उद्योगी–व्यवसायी, भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, संघको यसअघिका विभिन्न कार्यसमितिका पदाधिकारी–सदस्य, भद्रपुर क्षेत्रका सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।
संघका प्रेस सल्लाहकार रोहित काफ्लेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पछिल्लो समय शिथिल बन्दै गएको उद्योग–व्यवसाय क्षेत्रलाई चलायमान बनाउने, आर्थिक गतिविधि बढाउने, कृषि गतिविधिलाई बढावा दिने र आन्तरिक पर्यटन पनि प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिँदै महोत्सव सफल बनाउन सबैको सक्रिय साथ–सहयोगको अपेक्षा गरिएको बताए ।
कार्यक्रममा राजनीतिक दलहरूको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुरका अध्यक्ष प्रेम न्यौपाने, नेकपा एमाले भद्रपुर नगर कमिटीका सचिव डिल्लीराम पोखरेल, नेपाली काँग्रेसका राजेन्द्रकुमार सापकोटा, भद्रपुर नगरपालिका नं ३ वडा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडाध्यक्ष हेमबहादुर कार्की, ४ नं वडा तथा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट वडाध्यक्ष हंशधर राजवंशी, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’, उद्योगी–व्यवसायीका तर्फबाट झापा उद्योग संघका उपाध्यक्ष एवम् भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेत, पूर्व महासचिव तोयानाथ गड्तौला लगायतले महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट लागिपर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला–महोत्सव समितिका संयोजक उमेश डालमियाले पछिल्लो समय उद्योग–व्यवसाय क्षेत्र कमजोर बन्दै गएको बताउँदै चुनौतीपूर्ण परिस्थितिका बीच संघले महोत्सव लगाउने आँट गरेकामा प्रशंसा गर्दै महोत्सवलाई सबै उद्योगी–व्यवसायी र आम नागरिकले सहयोग पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले उद्योग–व्यवसाय क्षेत्र र स्थानीय तहबीच नङ र मासुको जस्तो सम्बन्ध रहने भएकोले एक–अर्काबीच सहकार्य हुनुपर्ने बताउँदै महोत्सवका लागि भद्रपुर नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले केही वर्षदेखि समग्र अर्थतन्त्र नै संकचित हुँदै गएको परिप्रेक्ष्यमा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि आर्थिक अवस्था अझ खस्किएको, उद्योगी–व्यवसायीको मनोबल अझै घटेको उल्लेख गर्दै मनोबल घटेका उद्योगी–व्यवसायीमा नयाँ ऊर्जा भर्न पनि महोत्सवले प्रेरित गर्ने धारणा राख्दै महोत्सवका लागि भद्रपुर नगरपालिकाले सबै किसिमका सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले अन्तरक्रियामा प्रस्तुत सुझावहरूलाई ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै महोत्सवका लागि सिफारिस गरिदिने भद्रपुर नगरपालिका र वडा नं ८ तथा महोत्सव स्थल उपलब्ध गराई सहयोग पुर्याएकोमा झापा जिल्ला खेलकुद समिति र भद्रपुर झापा गोल्डकपलाई विशेष धन्यवाद ज्ञापन गरे ।