२०८२ माघ ५ गते , सोमबार

गौरीगञ्जको मोबाइल पसलबाट करिब ७ लाखको सामान चोरी गर्ने युवक पक्राउ

sajilo news
झापा
२०८२ पौष २१ गते , सोमबार
गौरीगञ्जको मोबाइल पसलबाट करिब ७ लाखको सामान चोरी गर्ने युवक पक्राउ

झापा गौरीगञ्जको एक मोबाइल पसलबाट करिब ७ लाख बराबरको सामान चोरी गर्ने एकजना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका-३ बस्ने १९ वर्षीय सुवास (कोच) राजवंशी रहेका छन् । चोरी भएको २४ घण्टा नबित्दै चोरीका सामानसहित कोच पक्राउ परेका हुन् ।

गएराति गौरीगञ्ज बजारमा रहेको गौरादह-८ जुरोपानी बस्ने इन्द्रकुमार बरालले सञ्चालन गरेको बराल स्टोर मोबाइल पसलबाट विभिन्न सामान चोरी भएको थियो । चेन गेटको ताल्चा ,ढिकमा लगाएको फलामको सिक्री काटेर मोबाइल पसलभित्र रहेका सामानहरू चोरी भएको थियो । घटनाबारे बिहान खबर पाएपछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा प्रहरी टोली खटिएर थप अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो ।

यस क्रममा आज दिउँसो ४;२० बजे मोबाइल पसलमा चोरी गर्ने कोचलाई चोरिएका सामानसहित घरबाटै पक्राउ गरिएको हो । उनको घरबाट एन्ड्रोइड मोबाइल ६ थान,ड्रोन १ थान,मोबाइल चार्जर ३ थान,हेडफोन १ थान ,इयरफोन ३ थान र मुखमा लगाउने मुकुट बरामद भएको थियो ।

अनुहारमा मुकुट लगाएर उनी चोरी गर्न गएका थिए । अनुहार छोपेपनि सीसीटिभी फुटेजको आधारमा उनको पहिचान खुलेको थियो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार