इरानमा सरकार विरोधी प्रदर्शनको क्रममा ४५ जनाको मृत्यु
इरानमा सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएको छ। इरानी धर्मगुरुहरूको शासन र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको विरुद्धमा विगत १२ दिनदेखि जारी आन्दोलन अहिले देशका ३१ वटै प्रान्तका सयभन्दा बढी सहरमा फैलिएको छ।
राजधानी तेहरान र दोस्रो ठूलो सहर मशदमा हजारौँको संख्यामा उत्रिएका प्रदर्शनकारीले निर्वासित पूर्व युवराज रेजा पहलवीको समर्थनमा नाराबाजी गरिरहेका छन्। उनीहरूले तानाशाहको अन्त्य होस् भन्दै सुरक्षा घेरा तोडेर सडकमा प्रदर्शन गरेका हुन्।
यसैबीच, विभिन्न मानव अधिकारवादी संस्थाहरूले हिंसामा परी मृत्यु हुनेको संख्या ४५ नाघेको बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार मारिनेमा आठ जना बालबालिका समेत छन्। इरानको अर्ध–सरकारी समाचार संस्था फार्सले भने केही सुरक्षाकर्मीको पनि मृत्यु भएको पुष्टि गरेको छ।
आन्दोलन दबाउन सरकारले देशभर इन्टरनेट सेवा बन्द गरिदिएको छ। आर्थिक मन्दी, मुद्रास्फीति र भ्रष्टाचारका कारण सुरु भएको यो प्रदर्शन सन् २०२२ पछिकै ठूलो मानिएको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने सुरक्षा निकायलाई संयम अपनाउन निर्देशन दिनुभएको छ । उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन्।