२०८२ माघ ५ गते , सोमबार

भद्रपुरका विपन्न तथा असहाय परिवारलाई फाइबर सिरक वितरण

sajilo news
झापा
२०८२ पौष २५ गते , शुक्रबार
भद्रपुरका विपन्न तथा असहाय परिवारलाई फाइबर सिरक वितरण

भद्रपुर । भद्रपुरका विपन्न तथा असहाय परिवारलाई फाइबर सिरक वितरण गरिएको छ । केही दिनदेखि लगातार परेको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि भद्रपुर ६ नम्बर वडा कार्यालयले आफ्नो वडाका २२५ विपन्न तथा असहाय परिवारलाई शुक्रबार एक कार्यक्रमका बीच सिरक वितरण गरेको हो । 

भद्रपुर नगरपालिकाको आव २०८२/०८३ को नगर सभाबाट स्वीकृत वडास्तरीय योजना अन्तर्गत विपन्न परिवारका लागि लत्ताकपडा तथा न्यानो र कपडा खरिद तथा हस्तान्तरण शीर्षकमा विनियोजित बजेट रकम अन्तर्गत भद्रपुर ६ नम्बर वडाले वर्तमान परिस्थितिमा विपद् तथा शीतलहरले पारेको असर न्यूनीकरण र विपद् व्यवस्थापनका लागि  विपन्न, एकल महिला दलित, अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो फाइबर सिरक वितरण गरिएको वडाध्यक्ष रतिया राजवंशीले बताए ।

भद्रपुर नगरपालिकाकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङ, नगरपालिका विपद् व्यवस्थापन समितिका फोकल पर्सन नेत्र पोखरेल लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य प्रकाश शर्माले राखेका थिए । 

सम्बन्धित समाचार