झापाबाट “कोशी घुम्ती अस्पताल” को शुभराम्भ
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाबाट “कोशी घुम्ती अस्पताल”को उद्घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिकामा कोशी प्रदेशकै पहिलो “कोशी घुम्ती अस्पताल” उद्घाटन गरेका हुन् । कोशी प्रदेश सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रम कोशी घुम्ती अस्पतालको उद्घाटनसँगै आजदेखि शुभराम्भ भएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गरी सञ्चालनमा ल्याएको घुम्ती अस्पतालको औपचारिक उद्घाटनपछि बोल्दै मुख्यमन्त्री कार्कीले भने “आफू प्रदेशको मुख्यमन्त्री भए लगत्तै सुरु गरेको योजना सरकार फेरबदलका कारण सञ्चालन गर्न ढिला भएपनि पछिल्लो समय सबैको साथ र सहयोगमा सञ्चालन गर्न सफल भएको छ”। यसलाई अझ व्यवस्थित गर्दै दीर्घकालीन रुपमा सञ्चालन गर्न मन्त्रालयका कर्मचारीलाई उनले निर्देशन समेत दिएका छन् ।
गाउँ गाउँमा सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याएको घुम्ती अस्पतालबाट नागरिकलाई सहज रुपमा सेवा उपलब्ध हुने छ । यस्ता कार्यक्रमलाई कुनै पनि पार्टीको चस्माले नहरी सबैले साथ र सहयोग गर्नुपर्ने स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुले बताए ।
कोशीको पहिलो घुम्ती अस्पताल आफ्नै पालिकाबाट सुरु भएकोमा प्रदेश सरकारलाई धन्यवाद दिदैं यस अस्पतालबाट आफ्ना पालिकाका नागरिकले विशेषज्ञ डाक्टरबाट सेवा पाउने लागेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले धन्यवाद दिएका छन् ।