निर्वाचनलाई लक्षित गर्दै झापामा इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह
जिल्ला प्रशासन कार्यालय झापाले इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार र त्यसमा लाग्ने गोलीगठ्ठा बुझाउन प्रशासनले मंगलबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
प्रशासन कार्यालयका अनुसार झापा जिल्लाभित्र बसोबास गर्ने सर्वसाधारणले इजाजत लिएर राखेका सबै प्रकारका हातहतियार तथा तीमा प्रयोग हुने गोलीगठ्ठा अनिवार्य रूपमा बुझाउनुपर्नेछ। हातहतियार आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय झापामा बुझाउन सकिने सूचनामा उल्लेख छ।
हातहतियार बुझाउँदा प्रहरी कार्यालयबाट अनिवार्य रूपमा भरपाई रसिद लिनुपर्ने व्यवस्था गरिएको छ। सूचनामा उल्लेख भएअनुसार हातहतियार बुझाउने समयावधि माघ मसान्त तोकिएको छ। यसरी बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएको २१ दिनपछि बुझाएको भर्पाईसहित उपस्थित हुने सम्बन्धित धनीलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ।