झापा–५ मा राष्ट्रिय परिवर्तन पार्टीले गर्यो उम्मेदवार घोषणा
राष्ट्रिय परिवर्तन पार्टीले झापाको क्षेत्र नम्बर–५ मा उम्मेदवार घोषणा गरेको छ । बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो । झापा–५ मा पार्टीको तर्फबाट सविन चाम्लिङ राईले उम्मेदवारी दिने बताइएको छ । फोटो ग्राफर समेत रहेका कमल गाउँपालिका निवासी राईले पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टी अध्यक्ष राजेश पोर्तेल रहेको पार्टीले उज्यालो नेपाल पार्टीसँग सहकार्य गर्दै अघि बढ्ने जनाइएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, भ्रष्ट्राचार शून्यता लगायतका एजेन्डाहरूलाई अघि बढाउँदै पार्टीले आफ्ना चुनावी कार्यक्रमलाई अघि बढाएको राईले जानकारी दिए ।
पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार बनेका शहीद र घाइते तर्फका संयोजक समेत रहेका प्रकाश भट्टराईले पार्टीले शहीद, घाइते तथा जेन–जीको एकताको पार्टी राष्ट्रिय परिवर्तन पार्टी भएको बताए । पार्टीले देशका विभिन्न स्थानमा उम्मेदवार तय गर्दै उम्मेदवारी घोषणा गर्ने काम भइरहेको पार्टीकी अञ्जना राईले बताइन् । उनले आफ्नो पार्टीले विदेश जानुपर्ने अवस्थाको अन्त्य तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने अवस्थाको विकास गर्न आफूहरूको पार्टी लाग्ने बताइन् ।
सबैले अपनत्व हुने हिसाबले आफूहरूले चुनावी अभियान सञ्चालन गरिरहेको र निर्वाचनमा बाँसुरी चुनाव चिन्हसहित मैदानमा उत्रने उनीहरूको भनाई छ । जेन–जी आन्दोलनपछि बनेको सरकारले कुनै पनि काम गर्न नसकेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनका लागि छलफललाई समेत निरन्तरता दिइरहेको जनाइएको छ ।