टिपर दुर्घटना, एक जनाको मृत्यु
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै मंगलबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर सडकबाट करिब दुई सय ५० मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनार रहेका छन्। उनको ठेगाना र उनी सवारी चालक हुन् वा अन्य व्यक्ति भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटना बिहान करिब ४ बजे भएको थियो। घटनास्थल अप्ठ्यारो खोला र झाडी भएको क्षेत्रमा पर्ने भएकाले अन्य मानिस सवार थिए वा थिएनन् भन्नेबारे प्रहरीले खोजीकार्य जारी राखेको छ। घटनालगत्तै हार्थोक र अर्गलीबाट प्रहरी टोली पुगे पनि बिहान अँध्यारो भएका कारण उद्धार र अनुसन्धानमा केही समय कठिनाइ भएको थियो। प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।